२१ असोज काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
राठौरले मंगलबार कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदमा उम्मेदवारी दर्ता गराएका थिए। तर, बुधबार निर्वाचन अधिकृतको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।राठौरले उम्मेदवारी फिर्ता लिएसँगै अब कांग्रेस सभापति पदमा गगनकुमार थापा र श्यामकृष्ण खड्गी मात्रै प्रतिस्पर्धामा रहने भएका छन्।
यसअघि निर्वाचन समितिले सार्वजनिक गरेको प्रथम उम्मेदवार सूचीमा सभापति पदमा थापा, राठौर र खड्गी गरी तीन जनाको उम्मेदवारी परेको थियो। राठौरले उम्मेदवारी फिर्ता लिएपछि सभापतिको प्रतिस्पर्धा दुई उम्मेदवारमा सीमित भएको हो।
कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुँदैछ। विभिन्न पदमा उम्मेदवारी दर्ता तथा फिर्ताको प्रक्रिया पूरा हुँदै गर्दा अब निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
नयाँ नेतृत्व चयनका लागि कांग्रेस महाधिवेशनमा बिहीबार मतदान हुँदैछ। सभापतिसहित केन्द्रीय कार्यसमितिका विभिन्न पदमा हुने निर्वाचनले कांग्रेसको आगामी नेतृत्व तय गर्नेछ।