Logo

मंगलवार, कार्तिक ११ गते २०८३

बराम युवालाई एकजुट गराउन काठमाडौंमा प्रथम फुटसल कप सम्पन्न, थुमी युवा क्लब बन्यो च्याम्पियन

बराम युवालाई एकजुट गराउन काठमाडौंमा प्रथम फुटसल कप सम्पन्न, थुमी युवा क्लब बन्यो च्याम्पियन

जोईन खबर

२२, आश्विन २०८३
  • 865
    SHARES
  • बराम युवालाई एकजुट गराउन काठमाडौंमा प्रथम फुटसल कप सम्पन्न, थुमी युवा क्लब बन्यो च्याम्पियन

    २२ असोज काठमाडौं । नेपालका सूचीकृत ५० आदिवासी जनजातिमध्ये अति सीमान्तकृत समूहमा पर्ने बराम समुदायका युवालाई एकजुट गराउने उद्देश्यले काठमाडौंमा प्रथम बराम फुटसल कप प्रतियोगिता  सम्पन्न गरिइको छ । 

    images

    नेपाल बराम समाजको आयोजनामा बुढानीलकण्ठस्थित देवी स्पोर्ट्स हाउसमा शनिबार सम्पन्न प्रतियोगितामा काठमाडौं उपत्यका तथा आसपासका विभिन्न क्षेत्रबाट आएका २४ टोलीको सहभागिता रहेको थियो। दिनभर सञ्चालन भएको प्रतियोगिताले बराम समुदायका युवाबीच खेलकुदसँगै आपसी भेटघाट, सम्बन्ध विस्तार र एकताको वातावरण सिर्जना गरेको आयोजकले जनाएको छ।

    images
    images
    images

    नेपाल बराम समाजका खेलकुद संयोजक विक्रम बरामका अनुसार प्रतियोगिताको फाइनलमा थुमी युवा क्लब र गाउँले एकता बराम क्लबबीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा थुमी युवा क्लब विजेता बन्दै प्रथम बराम फुटसल कपको उपाधि जित्न सफल भयो। गाउँले एकता बराम क्लब उपविजेता बन्यो।

    प्रतियोगितामा सहभागी प्रत्येक टोलीबाट ३ हजार ५ सय रुपैयाँ प्रवेश शुल्क लिइएको थियो। विजेता थुमी युवा क्लबले नगद २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता गाउँले एकता बराम क्लबले नगद १० हजार रुपैयाँ र ट्रफी हात पारेको छ।

    प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कृत गरिएको थियो। गाउँले एकता बराम क्लबका सन्देश बराम उत्कृष्ट खेलाडी घोषित भए। त्यस्तै, थुमी युवा क्लबका सचिन बराम उत्कृष्ट किपर बने।

    अन्नपूर्ण युवा क्लबका मनोज बरामले प्रतियोगिताभरि सर्वाधिक ८ गोल गर्दै सर्वाधिक गोलकर्ताको पुरस्कार प्राप्त गरे। नेपाल बराम समाजका अध्यक्ष सागर बरामले काठमाडौंका विभिन्न स्थानमा छरिएर रहेका बराम समुदायका युवालाई आफ्नो जाति, संस्कृति र पहिचानबारे जानकारी गराउँदै एकजुट बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।

    उनका अनुसार युवा लक्षित यस्ता कार्यक्रमले बराम समुदायका युवामा आफ्नो जाति, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ भन्ने सकारात्मक भावना विकास गर्न सहयोग पुग्नेछ।

    नेपाल सरकारद्वारा सूचीकृत अति सीमान्तकृत १२ जनजाति समूहभित्र पर्ने बराम समुदायको कुल जनसंख्या करिब ८ हजार रहेको बताइएको छ। नेपाल बराम समाजका संरक्षक प्रेम बरामका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब ५३७ जना बराम समुदायका मानिस बसोबास गर्छन्।

    बराम समुदायको मौलिक भाषा ‘बालकुरा’समेत अहिले लोपोन्मुख अवस्थामा पुगेको समाजको भनाइ छ। भाषा, संस्कृति र परम्परा संरक्षण चुनौतीपूर्ण बन्दै गएको अवस्थामा खेलकुद तथा सामुदायिक कार्यक्रममार्फत नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानप्रति सचेत गराउने प्रयास भइरहेको आयोजकले जनाएको छ।

    समाजका अनुसार यस्ता कार्यक्रमले बराम समुदायका युवाबीच आपसी सम्बन्ध विस्तार गर्नुका साथै भाषा, संस्कृति, परम्परा र पहिचान संरक्षणमा नयाँ पुस्ताको सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :आश्विन २२, २०८३ बिहिवार - १२:३९:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको