२२ असोज काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज हुने भनिएको मतदान अझै सुरु हुन सकेको छैन।
मतदान दिउँसो साढे २ बजेबाट सुरु गर्ने कार्यक्रम तय गरिए पनि निर्धारित समय बितिसक्दा समेत मतदान प्रक्रिया अघि बढ्न सकेको छैन।
यसैबीच मतदान सुरु हुनुअघि काठमाडौंको खुलामञ्च र राष्ट्रिय सभागृह क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदानस्थल आसपास बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।
खुलामञ्च र राष्ट्रिय सभागृह दुवै स्थानमा पत्रकारलाई समेत प्रवेशमा रोक लगाइएको छ। त्यस्तै, कांग्रेसका महाधिवेशन प्रतिनिधिलाई पनि अहिलेसम्म मतदानस्थलमा प्रवेश गर्न दिइएको छैन।
मतदानस्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएसँगै महाधिवेशन प्रतिनिधि तथा अन्य सहभागीहरू मतदान सुरु हुने प्रतीक्षामा रहेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व तथा कार्यसमिति चयनका लागि मतदान हुन लागेको हो। मतदान प्रक्रिया कहिलेदेखि सुरु हुन्छ भन्नेबारे भने हालसम्म औपचारिक रूपमा नयाँ समय सार्वजनिक गरिएको छैन।
मतदानस्थलमा सुरक्षा व्यवस्था थप कडा पारिएपछि मतदानमा ढिलाइको कारणबारे पनि प्रतिनिधि तथा सञ्चारकर्मीबीच चासो बढेको छ।