२५ असोज गोरखा । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ३६ जनाको नेपाली सेनाले उद्धार गरेको छ। बाढी प्रभावित क्षेत्रमा फसेका नागरिकहरूको उद्धारका लागि नेपाली सेनाले हेलिकोप्टर तथा स्थलमार्गबाट खोजी र उद्धार कार्यलाई तीव्रता दिएको छ।
नेपाली सेनाका अनुसार बाढी प्रभावित जगत इलाकाबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट एक शिशु तथा एक विदेशी नागरिकसहित ९ जना र पायुबाट १२ जनाको उद्धार गरिएको हो। हालसम्म विभिन्न प्रभावित क्षेत्रबाट गरी ३६ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा फसेका नागरिकहरूको खोजी तथा उद्धारका लागि चारवटा हेलिकोप्टर परिचालन गरिएको छ। त्यसैगरी, स्थलमार्गबाट पनि नेपाली सेनाको टोली परिचालन गरी उद्धार कार्य अघि बढाइएको छ।
बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका अन्य नागरिकको अवस्थाबारे जानकारी लिने तथा आवश्यक उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी थप खोजी तथा उद्धार कार्य भइरहेको छ।
बाढी प्रभावित क्षेत्रमा जोखिममा परेका नागरिकको सुरक्षित उद्धार तथा मानवीय सहायता उपलब्ध गराउन सम्बन्धित निकायहरू सक्रिय रहेका छन्।