Logo

मंगलवार, कार्तिक ११ गते २०८३

गोरखाका पूर्वसांसद हरिराज अधिकारीको माग : बाढी प्रभावित क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गरी तत्काल उद्धार र राहतमा जुट्न सरकारलाई आग्रह

गोरखाका पूर्वसांसद हरिराज अधिकारीको माग : बाढी प्रभावित क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गरी तत्काल उद्धार र राहतमा जुट्न सरकारलाई आग्रह

जोईन खबर

२६, आश्विन २०८३
  • 772
    SHARES
  • गोरखाका पूर्वसांसद हरिराज अधिकारीको माग : बाढी प्रभावित क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गरी तत्काल उद्धार र राहतमा जुट्न सरकारलाई आग्रह

    २६ असोज गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर १ का पूर्वसङ्घीय सांसद तथा नेता हरिराज अधिकारीले बुढीगण्डकी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रलाई तत्काल सङ्कटग्रस्त घोषणा गरी खोजी, उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेका छन्।बुढीगण्डकी नदीमा आएको भीषण बाढी र पहिरोका कारण गोरखाको चुमनुब्री गाउँपालिका–६ लगायतका क्षेत्रमा ठूलो क्षति पुगेपछि अधिकारीले प्रभावित नागरिकको जीवनरक्षा र राहतलाई पहिलो प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

    images

    अधिकारीले चुमनुब्री गाउँपालिका–६ मा गएको पहिरो तथा बाढीबाट भएको विनाशको वास्तविक कारण विस्तृत अध्ययन र अनुसन्धानपछि मात्रै स्पष्ट हुने बताएका छन्। यद्यपि, पछिल्लो घटनालाई सामान्य प्राकृतिक विपत्तिका रूपमा मात्र लिन नहुने उनको भनाइ छ।

    images
    images
    images

    बाढी तथा पहिरोका कारण पुल, घरलगायतका भौतिक संरचना बगाउँदा स्थानीय बासिन्दा गम्भीर सङ्कटमा परेका छन्। प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण सङ्कलन गर्दै जोखिममा रहेका नागरिकको तत्काल खोजी तथा उद्धार गर्नुपर्ने अधिकारीले बताएका छन्।

    उनले प्रभावित क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गरी स्थानीय तहसँग समन्वय गरेर व्यापक जनपरिचालन गर्न सरकारसँग आग्रह गरेका छन्। बेपत्ता तथा जोखिममा रहेका नागरिकको खोजी र उद्धार, विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउने तथा प्रभावित बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काममा ढिलाइ गर्न नहुनेमा उनले जोड दिएका छन्।

    “प्रभावित नागरिकको जीवनरक्षा, तत्काल उद्धार तथा राहत र दीर्घकालीन पुनर्निर्माणका लागि सरकार गम्भीर भएर लाग्नुपर्छ,” अधिकारीको माग छ। उनले स्थानीय निकायलाई आवश्यक जनशक्ति, स्रोतसाधन तथा राहत सामग्री तत्काल उपलब्ध गराई उद्धार र राहतका काम प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

    त्यस्तै, बाढीबाट क्षतिग्रस्त संरचनाको अवस्था मूल्याङ्कन गरी पुनर्निर्माणको काम योजनाबद्ध रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ। जोखिमयुक्त क्षेत्रको पहिचान, सम्भावित थप विपत्तिबाट नागरिकलाई जोगाउने उपायको अवलम्बन तथा सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले औँल्याएका छन्।

    अधिकारीले अहिलेको मुख्य प्राथमिकता बाढीपहिरोको कारणबारे निष्कर्षमा पुग्नुभन्दा पनि जोखिममा रहेका नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार र प्रभावित परिवारलाई राहत उपलब्ध गराउनु रहेको बताएका छन्। त्यसपछि घटनाको विस्तृत प्राविधिक अध्ययन, क्षतिको मूल्याङ्कन र पुनर्निर्माणका कामलाई प्रभावकारी ढङ्गले अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन्।बुढीगण्डकी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा जनधनको थप क्षति हुन नदिन सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला सबै पक्ष तत्काल परिचालित हुनुपर्ने आवश्यकता देखिएको छ।

    प्रकाशित मिति :आश्विन २६, २०८३ सोमवार - १०:१३:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको