Logo

मंगलवार, कार्तिक ११ गते २०८३

लिगलिग दौड रोकिएपछि पालुङटारका मेयर चिन्तित, प्रशासनको आदेशप्रति खेद

लिगलिग दौड रोकिएपछि पालुङटारका मेयर चिन्तित, प्रशासनको आदेशप्रति खेद

जोईन खबर

२९, आश्विन २०८३
  • 685
    SHARES
  • लिगलिग दौड रोकिएपछि पालुङटारका मेयर चिन्तित, प्रशासनको आदेशप्रति खेद

    २९ असोज गोरखा । गोरखाको पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले अन्तिम समयमा जिल्ला प्रशासन कार्यालय गोरखाले लिगलिग दौड रोक्न आदेश दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। दौड सुरु गर्न सिठ्ठी फुक्न मात्रै बाँकी रहेको अवस्थामा कार्यक्रम रोक्न भनिएको भन्दै उनले प्रशासनको निर्णयप्रति खेद प्रकट गरेका हुन्।

    images

    दौडमा सहभागी हुन देशका विभिन्न ठाउँबाट पालुङटार आइपुगेका धावकहरूलाई आज बिहान सम्बोधन गर्दै मेयर चिन्तनले स्थानीय सरकारले आवश्यक कार्यविधि बनाएर, राजपत्रमा प्रकाशित गरी तथा जिल्ला प्रशासन कार्यालयसँग पटक–पटक छलफल र पत्राचार गरेर दौड आयोजना गर्न खोज्दा पनि सम्भव नभएको बताए।‘सिठ्ठी फुक्न मात्रै बाँकी रहेको समयमा जिल्ला प्रशासन कार्यालय गोरखाले जुन प्रकारले ठाडो आदेश गर्‍यो, त्यसप्रति खेद प्रकट गर्दछु,’ उनले भने।

    images
    images
    images

    मेयर चिन्तनले लिगलिग दौड आयोजना गर्न नगरपालिकाले आवश्यक प्रक्रिया पूरा गरेको दाबी गर्दै कार्यक्रम स्थगित गर्न निर्देशन दिइएको विषयमा प्रशासनसँग जवाफ माग्ने बताए।

    उनका अनुसार लिगलिग विकास अभियानले असोज ३० गते दौड आयोजना गर्ने भन्दै सामाजिक सञ्जालमा सूचना राखेको विषयलाई आधार बनाएर शान्ति सुरक्षाको जोखिम देखाउँदै असोज २९ गतेका लागि तय गरिएको नगरपालिकाको कार्यक्रम स्थगित गर्न भनिएको थियो।

    ‘स्थानीय सरकारले नियमभित्र रहेर कार्यविधि बनाई राजपत्रमा प्रकाशित गरेर प्रशासन कार्यालयसँग चरण–चरणमा छलफल र पत्राचार गरी दौड आयोजना गर्दा पनि सम्भव हुन सकेन,’ उनले भने।

    मेयर चिन्तनले दौडमा सहभागी हुन धावकहरू जम्मा भइसकेको अवस्थामा लिगलिग विकास अभियानले कार्यक्रम गर्ने वा नगर्ने र त्यसमा कति धावक सहभागी हुने भन्ने विषयमा प्रशासनले स्पष्ट जवाफ दिनुपर्ने बताए। उनले यस विषयमा जिल्ला प्रशासन कार्यालयसँग प्रश्न गर्ने पनि उल्लेख गरे।

    कार्यक्रम रोकिए पनि नगरपालिकाले देशका विभिन्न ठाउँबाट निम्तो स्वीकार गरेर आएका धावकहरूको व्यवस्थापन गर्ने जनाएको छ। मेयर चिन्तनका अनुसार सहभागीहरूका लागि नगरपालिकाले खानाको व्यवस्था गरेको छ। साथै, धावकहरूलाई लिगलिगकोट घुम्ने अवसर उपलब्ध गराइने र पोखरा, मुग्लिन तथा चितवनसम्म पुग्न सवारीसाधनको व्यवस्था गरिएको छ।

    धावकहरूलाई दूरीअनुसार यातायात खर्चसमेत उपलब्ध गराइने जानकारी दिँदै उनले आवश्यक व्यवस्था बुझेर जान आग्रह गरे।

    लिगलिग दौड गोरखाको ऐतिहासिक पहिचानसँग जोडिएको प्रतियोगिता हो। यसको आयोजना र व्यवस्थापनलाई लिएर स्थानीय सरकार तथा सम्बन्धित निकायबीच देखिएको विवादले यस वर्षको कार्यक्रम प्रभावित भएको छ।यद्यपि, जिल्ला प्रशासन कार्यालय गोरखाले दौड रोक्न दिएको आदेशको आधिकारिक कारण र यस विषयमा प्रशासनको धारणा भने यहाँ समावेश गरिएको छैन।

    प्रकाशित मिति :आश्विन २९, २०८३ बिहिवार - १३:०९:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको