Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

धादिङको फुर्केखोलामा अस्थायी पन्टुन ब्रिज जडान गरिने, तिहारअघि नै यातायात सञ्चालन गर्ने लक्ष्य

धादिङको फुर्केखोलामा अस्थायी पन्टुन ब्रिज जडान गरिने, तिहारअघि नै यातायात सञ्चालन गर्ने लक्ष्य

जोईन खबर

१४, कार्तिक २०८३
  • 190
    SHARES
  • धादिङको फुर्केखोलामा अस्थायी पन्टुन ब्रिज जडान गरिने, तिहारअघि नै यातायात सञ्चालन गर्ने लक्ष्य

    १३ कार्तिक धादिङ । धादिङका आठ वटा स्थानीय तहलाई राष्ट्रिय राजमार्गसँग जोड्ने फुर्केखोलाको पक्की पुल बाढीले बगाएपछि अस्थायी रूपमा ‘पन्टुन ब्रिज’ (तैरिने पुल) जडान गरिने भएको छ।

    images

    भदौ १० गते आएको भोटेकोसी बाढीले फुर्केखोलाको पक्की पुल बगाएपछि पृथ्वी राजमार्गसँगको सडक सम्पर्क विच्छेद भएको थियो। सडक सम्पर्क टुटेपछि स्थानीयवासीले आवतजावतमा ठूलो सास्ती खेप्दै आएका छन्। एम्बुलेन्ससमेत वैकल्पिक र लामो दूरीको जोखिमपूर्ण सडक प्रयोग गर्न बाध्य भएका छन्।

    images
    images
    images

    बाढीले फुर्केखोलाको पक्की पुलसहित त्रिशूली नदी वारपार गर्ने चारवटा पक्की पुल बगाएपछि धादिङबेँसी र पृथ्वी राजमार्गबीचको सडक सम्पर्क प्रभावित भएको हो।धादिङका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको संयुक्त पहल र समन्वयमा मलेखुमा पन्टुन ब्रिज ल्याएर जडान गर्ने तयारी अन्तिम चरणमा पुगेको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले जानकारी दिएका छन्।

    अध्यक्ष दनैका अनुसार राजापुर सिँचाइ व्यवस्थापन कार्यालय, बर्दियाअन्तर्गत रहेको पन्टुन ब्रिज फुर्केखोलामा ल्याएर अस्थायी रूपमा जडान गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो। यसैक्रममा सम्बन्धित कार्यालयसँगको समन्वयमा प्राविधिक टोलीसहित फुर्केखोलामा पुल जडान गर्न सकिने सम्भावना र आवश्यक प्राविधिक पक्षबारे स्थलगत निरीक्षणसमेत गरिएको छ।

    सबै प्रक्रिया अनुकूल भएमा केही दिनभित्रै पन्टुन ब्रिज जडानको काम सम्पन्न गरी स्थायी पुल निर्माण नहुँदासम्मका लागि तिहारअघि नै यातायात सञ्चालनमा ल्याउने लक्ष्य रहेको अध्यक्ष दनैले बताएका छन्।

    के हो पन्टुन ब्रिज 

    पन्टुन ब्रिज भनेको पानीमा तैरिने संरचनाको सहायताले निर्माण गरिने अस्थायी वा स्थायी प्रकृतिको पुल हो। यसलाई नेपालीमा ‘तैरिने पुल’ पनि भनिन्छ।सामान्य पक्की पुलमा जस्तो नदीको पिँधमा पिलर निर्माण गर्नुपर्ने आवश्यकता यसमा हुँदैन। पानीमा तैरिन सक्ने विशेष संरचना ९पन्टुन० लाई एकआपसमा जोडेर पुलको स्वरूप दिइन्छ। यही संरचनामाथि आवतजावत गर्न मिल्ने बाटो तयार गरिन्छ।

    प्राविधिकहरूका अनुसार पन्टुन ब्रिज तुलनात्मक रूपमा कम खर्चिलो हुने र छोटो समयमै जडान गर्न सकिने पुल हो। आवश्यक नपरेमा यसलाई फुकालेर अर्को स्थानमा समेत लैजान सकिन्छ।

    तर नदीमा पानीको बहाव अत्यधिक बढ्दा, ठूलो बाढी आउँदा वा प्रतिकूल मौसमी अवस्था सिर्जना हुँदा यस्तो पुल जोखिमपूर्ण हुन सक्छ। त्यसैले पानीको बहाव र मौसमको अवस्था हेरेर यसको सञ्चालन तथा सुरक्षा व्यवस्थापन गर्नुपर्ने हुन्छ।

    स्थायी पुल निर्माणका लागि पनि पहल

    यसैबीच संघीय सरकारले समेत मलेखुको फुर्केखोलामा स्थायी पुल निर्माणका लागि पहल अघि बढाएको छ।धादिङ क्षेत्र नम्बर २ का सांसद बोधनारायण श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत फुर्केखोलामा स्थायी समाधानका लागि सिग्नेचर ब्रिज निर्माण गर्ने र त्यसका लागि बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।उनका अनुसार त्रिशूली नदी वारपार गर्ने घाटबेँसीको पक्की पुल तथा अन्य पाँचवटा सडक स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्थापन गरी प्रक्रिया अघि बढाउने तयारीसमेत गरिएको छ।

    अस्थायी पन्टुन ब्रिज जडान भएपछि धादिङका विभिन्न स्थानीय तहका नागरिकलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ। साथै स्थायी पुल निर्माण सम्पन्न नहुँदासम्म यातायात सम्पर्क कायम राख्न यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

    प्रकाशित मिति :कार्तिक १४, २०८३ शुक्रवार - १२:२६:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको