२७ कात्तिक काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि कास्कीबाट रुपन्देही लगिएको छ ।बिहान भिजिविलिटी नहुँदा उडान हुन नसक्दा करिब ४ घण्टासम्म विमानस्थलमा कुरेर अहिले १० बजेर ३० मिनेटमा उडान भएको हो ।
बुद्ध एयरको विमानमार्फत निर्धारित समय बिहान ७ बजेर ४५ मिनेटको उडानका लागि रविलाई बिहानै प्रहरी टोलीले पोखरा विमानस्थल पु(याएको थियो । रुपन्देहीको सरकारी वकिल कार्यालयमा बयानपछि सकेसम्म आजै पोखरा फर्काइने तयारी छ ।
बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको अभियोगमा रुपन्देही जिल्ला अदालतले पनि यसअघि लामिछानेसहित १२ जनालाई पक्राउ पूर्जी जारी गरेको थियो । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्नता देखिएको भन्दै गत २ कात्तिकमा काठमाडौं वनस्थलीबाट लामिछानेलाई पक्राउ गरी पोखरा ल्याइएको थियो ।
हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान भइरहेको छ ।यसैबीच, रास्वपाका कार्यकर्ताले भने राजनीतिक प्रतिशोधको आधारमा आफ्ना सभापतिलाई पक्राउ गरेको भन्दै देशका विभिन्न ठाउँमा दिनहुँ प्रदर्शन गरिरहेका छन् ।