१८ जेठ काठमाडौ । काँग्रेसका अर्थमन्त्री डा. प्रकाशशरण महतले पूँजी बजारको जोखिम र संबेदनशीलता नबुझी साम्यवादी कर नीति लागु गर्ने घृष्टता गरेका छन् । पाईला पाईलानमा जोखिम रहेको र सानो सूचनाले पनि तीब्र रुपमा उतार चढाव आउने पूँजी बजारमा साम्यवादी करनीति लादेर आयमा ३९ प्रतिशत आयकर असुल्ने नीति नयाँ बजेटबाट घोषणा गर्नुले लगानीकर्ता त्रसित भएका छन् । बजेट अघि सार्वजनिक समाराेहहरूमा करकाे दरहरू हेरफेर नगर्ने बताएका अर्थमन्त्री डा. महतले करका दरहरू चलाएर जनतालाइ ढाँटेका छन् ।
अर्थमन्त्री महतले माओवादीको नीति अनुसार धेरै लगानी गर्नेलाई कस्ने रणनीति अपनाएका छन् । बजारमा साम्यवादी कर नीति लागु गरेर आयमा ३९ प्रतिशतसम्म कर लगाउनुले नेपालको पूँजी बजारमा लगानी निरुत्साहित भएर जान्छ र अरु धेरै लगानीकर्ताहरुले गुमाउने खतरा बढ्छ ।
अर्थमन्त्री महतले पूँजी बजारमा चर्को आय कर नीति लगाएर पूँजी बजार मात्रै हैन, नेपाली काँग्रेसको खुला बजार अर्थनीतिको औचित्य पनि समाप्त गरेका छन् । उनले संसद बैठकमा बाचन गरेको बजेट बक्तब्यको बुँदा नम्बर ४१० ले यो सरकारले कस्तो लगानी नीति अख्तियार गर्दैछ भन्ने कुराको रहस्य खोलेको छ ।
२०८० सालको बजेट बक्तब्यबाट भुतप्रभावी नीति लिई २०७६।०७७ देखि कै आयकर ऐन अनुसार तिर्न लगाउनु र ५० प्रतिशत छुटदिईएको भन्नु कहाँको न्यायसंगत हो ? ठूलो जोखिम मोलेर लगानी गरी सरकारलाई ३९ प्रतिशत कर तिर्न कोही पनि शेयर बजारमा प्रबेश गर्ने छैनन् ।
कर आतंकको ब्यापक आलोचना भएपछि अर्थमन्त्री महतले बुधबार बिहान केही मिडियालाई दिईएको अन्तरवार्तामा नयाँ ब्यवस्थाले ९९.९ प्रतिशत लगानीकर्तालाई असर गर्दैन भनी बचाउ गर्नुले नै सरकारको नियत उदांगो पारेको छ ।