काठमाडौं । सेयर बजार परिसूचक नेप्से एक वर्षयताकै न्यून विन्दुमा झरेको छ । साताको चौथो दिन बजार परिसूचक नेप्सेमा १.३८ प्रतिशतले गिरावट हुँदा ०७८ मंसिरपछि २३०० अंकको विन्दुबाट झरेको छ ।
बुधबार नेप्से ३१.७६ अंकले गिरावट हुँदा २२७५.६८ अंकमा बन्द भएको छ । यो पछिल्लो एक वर्षयताकै न्यून विन्दु हो । ०७८ भदौ २ गते ३१९९.०३ अंकसम्म पुगेको नेप्से मंसिर २७ गते २२८१.६७ अंकसम्म झरेको थियो ।
त्यसपछि बजारमा लगातार उतारचढाव कायम रहे पनि उक्त विन्दुभन्दा झल झरेको थिएन । तर, पछिल्ला केही दिनयता निरन्तर घटिरहेको नेप्से बुधबार एक वर्षयताकै न्यून विन्दुमा झरेर बन्द भएको हो ।
नेप्सेसँगै सबै उपसूचकमा पनि गिरावट भएको छ । कारोबार रकम पनि घटेको छ । गएको सोमबार एक अर्ब ४२ करोडको कारोबार भएको बजारमा आज करिब एक अर्ब २७ करोडको कारोबार भएको छ ।
लगातार घट्दो क्रममा देखिएको बजारमा अरुण भ्याली हाइड्रोपावरको करिब चार करोड ५९ लाखको कारोबार हुँदा हिमालयन डिस्टिलरीको तीन करोड ५२ लाख र नबिल बैंकको तीन करोड ४२ लाख ५० हजारको कारोबार भएको छ ।
आज दिनभर बजारमा १९६ कम्पनीको सेयर कारोबार भएकामा १७७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ भने १५ कम्पनीको मात्रै मूल्य बढेको छ । चार कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।
आज कारोबारमा आएका मध्ये जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा बरुण हाइड्रोपावरको ४.४५ प्रतिशतले वृद्धि भएको छ।
ग्रिन भेन्चर्स लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.३६ प्रतिशतले गिरावट हुँदा युनियन हाइड्रोपावरको ५.७७ प्रतिशत र सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.३८ प्रतिशतले घटेको छ ।