२२ भदौ, काठमाडौं- पार्टीको आन्तरिक विवादले गत साउन १३ देखि अनिश्चित बनेको नेकपाको स्थायी कमिटी बैठक भदौ २६ मा हुने गरी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भएका छन्।
सोमबार बिहान महासचिव विष्णुप्रसाद पौडेलसहित अध्यक्षद्वय ओली र दाहालबीच भएको छलफलले बैठक बोलाउने सहमति गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
गत असार १० गते शुरु भएको स्थायी कमिटी बैठक आन्तरिक विवादकै कारण पटकपटक स्थगित हुँदै आएको थियो ।
पछिल्लो समय विवाद हल गर्नको लागी महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको थियो । उक्त कार्यदलले भदौ ६ मा बुझाएको प्रतिवेदनले ओलीलाई महाधिवेशनसम्म दुबै पदमा र दाहाललाई पूर्ण कार्यकारी अधिकारसहितको जिम्मेवारी दिन सुझाव दिएपछि तत्काललाई विवाद हल हुने ठानिएको छ ।
स्थायी कमिटी बैठकमा कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसअघि ओली र दाहालबीच ठोस सहमति जुटाउने तयारी छ।