१३ असार काठमाडौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको सिचुवान प्रान्तको भ्रमणमा मंगलबारदेखि पाँच दिनसम्मको भ्रमणका लागि राति ११:२० बजेको उडानमार्फत चीन जान लागेका हुन् । प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठलगायतको सहभागिता छ ।उनी आज पश्चिमी चीन अन्तर्राष्ट्रिय मेलाको स्वागत भोजमा सरिक हुने उनको सचिवालयले जनाएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्ने छन् भने दिउँदो छेन्दूको योजना प्रदर्शनी हल र अन्तर्राष्ट्रिय मित्र सहर सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्ने छन् । उनले विश्वविद्यालयको ‘हाइड्रोलिक्स’ र ‘माउन्ट रिभर इन्जिनियरिङ’ प्रयोगशालाको अवलोकन गर्ने छन् । दिउँसो सिचुवान एयरलाइन्स र प्रान्तीय लगानी समूहका अधिकारीहरूलाई भेट्ने छन् ।शनिबार बिहान उनले भूकम्पपछि पुनर्निर्माण भएको यिन्छियुको र जिपिङ्पुस्थित ‘हाइड्रो जक्सन’को अवलोकन भ्रमण गर्ने छन् । त्यसदिन दिउँसो दुजियाङ्गानस्थित चीनकै पुरानो सिँचाइ प्रणाली र ग्रामीण पुनरुत्थानको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

