काठमाडौं, माघ १८ गते । महान्यायाधिवक्ता दिनमणि पोखरेलले गत निर्वाचनमा नामावली समावेश गर्ने प्रक्रियामा समस्या आउँदा कतिपय नागरिकले भोट हाल्न नपाएको बताउनुभएको छ । बुधबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा आफ्नो धारणा राख्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
महान्यायाधिवक्ता पाखरेलले भन्नुभयो, ‘‘नामावली समावेश गर्ने कुरामा नै प्राविधिक समस्या भयो । यस्ता कुरालाई ऐनले रोकेको छैन, व्यवहारिक रुपमा लैजाने कुरामा समस्या भएकाले यस्ता कुरालाई समयमै निर्वाचन आयोगले समाधान गर्नुपर्छ । मुलतः सिफारिस गर्ने संवैधानिक अंगहरुमा, राजनीतिक दलहरुमा समावेशितालाई इन्स्योर नगरीकन ऐनमा ल्याएर मात्रै हुँदैन, त्यसैले ब्याक एण्ड फोर्स हामीले सोच्नुपर्छ ।’’
महान्यायाधिवक्ता पोखरेलले निर्वाचनमा कसलाई सहभागी हुन दिने र नदिने भन्नेबारेमा पनि कतिपय प्राविधिक समस्या आएकाले यी कुराहरुलाई आगामी दिनमा स्पष्ट बनाएर जान आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले विदेशमा रहेका नागरिकलाई भोट हाल्ने व्यवस्था गर्ने आदेश सर्वोच्च अदालतले दिइसके पनि व्यवहारिक रुपमा इन्स्योर भएको अनुभूति हुन नसकेको बताउनुभयो ।
‘‘निर्वाचनमा कसलाई सहभागी हुन दिने र नदिने भन्नेबारेमा पनि कतिपय प्राविधिक कुराहरु छन् । सर्वोच्च अदालतले नै विदेशमा रहेका नागरिकलाई भोट हाल्ने व्यवस्था गर्नु भनेको छ, २०६४ मै कैदीबन्दी, कर्मचारी, सेना, प्रहरी सबैले भोट हालेको थियो, पछिल्लो दिनमा फेरि रोकियो, यस पटक सर्वोच्च अदालतको आदेशपछि कार्यान्वयनमा आयो तर सबैले व्यवहारिक रुपमा इन्स्योर भएको अनुभूति भएन ।’’
महान्यायाधिवक्ता पोखरेलले समानुपातिक निर्वाचन प्रणालीमा विकृत अभ्यास भइरहेको गुनासो बढीरहेको भन्दै यसलाई समयमा नै समाधान गर्न आवश्यक पहल गर्नुपर्ने बताउनुभयो । 