३० साउन, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापित पार्टी कमिटीबाट अलग भएका छन् । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा पराजित भएपछि उनी प्रायस् निष्क्रिय थिए । हालै उनले पार्टी कमिटीबाट अलग हुन चाहेको जानकारी नेताहरुलाई गराएका थिए । सोही आधारमा एमालेको सचिवालय बैठकले स्थापितलाई केन्द्रीय सदस्यबाट बिदा गरेको स्रोतले बतायो । एमालेले स्थापितसँगै सिरहाका प्रमोद यादवलाई पनि केन्द्रीय सदस्यबाट बिदा गरेको छ । तर यसबारे स्थापित भने औपचारिक रुपमा बोल्न चाहेनन् । आफूले ‘केही नयाँ’ गर्न खोजेको भन्दै उनले भने, ‘यो पाँच-सात वर्षदेखि मैले केही नयाँ कुरा गर्दैछु, केही नयाँ प्रयोगहरु गर्दैछु ।’ राजनीतिमै रहेर कि नरहेर भन्ने जिज्ञासामा उनले भने, ‘त्यो पनि ठूलो राजनीति हो नि ।’