११ भदौ, काठमाडौं । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको सम्पर्क कार्यालय र आवासीय भवनको उद्घाटन गरे । ताम्रपत्र शिलान्यास र वृक्षरोपण गरेर उनले सात वटै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुलाई दिन तयार गरिएको भवन उद्घाटन गरेका हुन् । आइतबार नै मुख्यमन्त्री र प्रदेश प्रमुखहरुले कार्यालय भवनको साँचो जिम्मा लिएका छन् । सैंबु आवास क्षेत्रको २७ रोपनी १२ आना जमिनमा एउटै आवास क्षेत्रभित्र ७ वटा ठूला भवनहरु बनाइएको हो । सरकारले औसत एउटा भवन निर्माण गर्न जग्गाको मूल्यबाहेक करिब साढे १२ करोड रुपैयाँ खर्च गरेको छ । सबै भवनहरुको लागत करिब ८५ करोड रुपैयाँ हो ।