प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाेलि सोमबार बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत पेश गर्ने भएका छन्।
गत पुस १० गते ७ दलीय गठबन्धनको सहयोगमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले गत पुस २६ गते पनि विश्वासको मत लिएका थिए।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीलगायत दलहरूले विश्वासको मत दिने तयारी गरेका छन्।
७९ जना सांसद भएको नेकपा एमाले प्रमुख प्रतिपक्षमा बसेको छ। १४ सांसद भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि प्रतिपक्षमा बसेको छ। गत फागुन १२ गते राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने पूर्वसन्ध्यामा कांग्रेस, माओवादीसहित ८ दलीय गठबन्धन बनेको थियो।
शनिबार बालुवाटारमा १० दलीय गठबन्धन बैठक बसेर संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा प्रस्तुत गर्ने र प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा एक ठाउँमा उभिने समझदारीसमेत गरेका थिए।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि अहिलेकै सरकारमा मन्त्रिपरिषद बिस्तार गर्न काम अघि बढ्नेछन्।