१२ चैत काठमाडौं। नेकपा (माओवादी केन्द्र)बाट सरकारमा रहेका मन्त्रीको जिम्मेवारी हेरफेर हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सचिवालय स्रोतका अनुसार उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री बन्न लागेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारमा नजाने अडान लिएपछि माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा सरकारमा गएका थिए ।
स्रोतका अनुसार अर्थ मन्त्रालय नेपाली कांग्रेसले लिने भएपछि गृह मन्त्रालय माओवादीले लिने सहमति भएको हो । यसैबीच भौतिक पूर्वाधार मन्त्रालयबाट बिदा हुने भएपछि उपप्रधानमन्त्री श्रेष्ठले आइतबार पत्रकार सम्मेलनसमेत आयोजना गरेका छन् ।