६/८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडित जुरोपानी सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ११ केभीका पाँचवटा फिडर लाइनहरु निकालिएको छ । सबस्टेसनलाई आइतबार विद्युत् आपूर्ति दिई सञ्चालनमा (चार्ज) ल्याएको छ ।
११ केभी वितरण लाइन ज्यादै लामो हुँदा त्यस क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङलगायतका समस्या थियो । जुरोपानी सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि उपभोक्ताहरुले अहिले व्यहोरिरहेको समस्या समाधान भई विद्युत आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय भएको छ । त्यस क्षेत्रका कृषकहरुले विद्युतीय मोटरबाट पानी तानी खेतमा सिंचाइ गर्दै आएका छन् ।
पहिले २८० भोल्ट लाइन आउने गरेकोमा नयाँ सबस्टेसनबाट आपूर्ति दिन थालेपछि ४०० भोल्ट लाइन प्रवाह भई त्यस क्षेत्रमा कुटानीपिसानी मिलका उपकरणहरु पानी तान्ने पम्पलगायतले राम्रोसँग काम गर्न थालेको परीक्षण, सञ्चालन र चार्जिङमा सङ्लग्न आयोजनाका सहायक इन्जिनियर दुर्गादत्त सुवेदीले बताए ।
पाडाजुँगीबाट जुरोपानीसम्मको करिब १८ किलोमिटर लामो ३३ केभी लाइन निर्माणाधीन छ। केही स्थानमा स्थानीय बासिन्दाको अवरोधका कारण लाइन तान्न सकिएको छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एशियाली विकास बैंकको सहुलीयतपूर्ण ऋणमा सबस्टेसन निर्माण गरिएको हो ।