५ असार काठमाडौँ । धनगढी उपमहानगरपालिका वडा न १६ का ५३ वर्षीय बलराम मग्राठी अत्यधिक गर्मीपछि बेहोस भएर मृत्यु भएको छ ।अत्यधिक गर्मीका कारण बेहोस भएका ५३ वर्षीय मग्राठीको बेहोस पछि सेती प्रदेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।
गङ्गादशहरा पर्वको अवसरमा यही असार २ गतेदेखि धनगढीको बेहडाबाबा धाममा लागेको मेलामा सञ्चालित होटेलको स्टलमा काम गरिरहेका मग्राठी गर्मीले बेहोस भएका थिए । उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता बोहराले जानकारी दिनुभयो ।गर्मी बढेपछि धनगढी उपमहानगरपालिका क्षेत्रका विद्यालयमा मंगलबारबाट थप तीन दिन बिदा दिइएको छ ।
पश्चिम तराईका कैलालीसहितका जिल्लामा पहिलोपटक लगातार अत्यधिक गर्मीको महसुस भएको स्थानीयवासीले बताएका छन् । मंगलबार धनगढीको अधिकतम तापक्रम ४३ दशमलव एक डिग्री सेल्सियस मापन भएको छ । गर्मी बढ्दै जाँदा रोपाइँका लागि खेतमा राखिएका धानका ब्याड ९बीउ० सुक्न लागेको किसानले बताएका छन् । गर्मी बढेसँगै धनगढीसहितका बजारमा चहलपहल घटेको छ ।