१३ कार्तिक काठमाडौं । नेपाल रेडक्रस सोसाइटी गणबहाल उपशाखाको आयोजनामा सञ्चालन हुँदै आएको दैनिक रक्तदान कार्यक्रमको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ। २०८३ कात्तिक १२ गते आयोजित वार्षिकोत्सव समारोहमा नियमित रूपमा रक्तदान गर्दै मानव जीवन रक्षामा योगदान पुर्याउने रक्तदाताहरूलाई सम्मान गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी गणबहाल उपशाखाको आयोजना, सर्वहित नेपाल, चन्द्र सूर्य पुस्तकालय, महादेव मखन क्लब तथा पुरानो बानेश्वर टोलवासी संस्थाको सहकार्य र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा दैनिक रक्तदान कार्यक्रम सञ्चालन हुँदै आएको छ।
‘रक्तदान जीवनदान’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै सुरु गरिएको यस अभियानले एक वर्षको अवधिमा रगतको अभावमा रहेका बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको आयोजकले जनाएको छ।
कार्यक्रमले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै नियमित रक्तदानमार्फत सामाजिक तथा मानवीय सेवामा सहभागी हुन सर्वसाधारणलाई प्रेरित गरेको छ। वार्षिकोत्सवका अवसरमा नियमित रक्तदाताहरूलाई सम्मान गर्दै उनीहरूले पुर्याएको योगदानको प्रशंसा गरिएको थियो।
यस अभियानलाई एक वर्षसम्म निरन्तरता दिन सहयोग गर्ने रक्तदाता, स्वयंसेवक, विभिन्न सहयोगी संस्था तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ।
मानवीय सेवा, सामाजिक उत्तरदायित्व र जीवन रक्षाको उत्कृष्ट उदाहरणका रूपमा स्थापित हुँदै गएको दैनिक रक्तदान अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिँदै अझ प्रभावकारी बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।
कार्यक्रममा सहभागी अतिथि, रक्तदाता, सहयोगी संस्था तथा स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्दै आयोजकले रक्तदान अभियानमा सबैको साथ र सहयोगको अपेक्षासमेत गरेको छ। ‘रक्तदान जीवनदान, रक्तदान महादान’ भन्ने सन्देशसहित सम्पन्न वार्षिकोत्सवले नियमित रक्तदानको महत्व र सामाजिक सेवाप्रतिको जिम्मेवारीलाई थप उजागर गरेको छ।