६ बैशाख काठमाडौ। प्रधानमन्त्री ‘प्रचण्ड’ले गोरखाको चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको बताउनुभएको छ । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका –७, छेकम्पारस्थित राजेन गुम्बामा ‘अहिंसा अभियान, चुमबासीको पहिचान’ भन्ने नाराकासाथ आजदेखि सुरु भएको ‘चुमशताब्दी श्याग्या महोत्सव २०८०’ को उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले ऐतिहासिक कार्य भएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले चुमनुव्रीलगायत देशका विकट क्षेत्रहरूको आर्थिक, सामाजिक, सांस्कृतिक तथा समग्र क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेकोसमेत बताउनुभयो । उहाँले देशमा सङ्घीयता स्थापना भएसँगै विकट क्षेत्रका जनताको आवाज सिधै सिंहदरबारसम्म पुग्नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो ।

तपाईँको गाउँपालिकाका अध्यक्ष सिंहदरबारमा पुगेर पटक–पटक मसँग यहाँको विकास निर्माणका बारेमा मलाई झकझक्याई रहनुभएको छ प्रधानमन्त्री दाहालले भन्नुभयो। दिगो पर्यटन पूर्वाधारका विकास लागि नीतिगत व्यवस्था गर्न सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।
”
चुमनुव्री गाउँपालिका –१ सामागाउँस्थित रुइलानाका र वडा नं. ७ छेकम्पारस्थित तिब्बतसँग सिमाना जोडिएको रुइला नाका खुलाउन आवश्यक पहल गर्नेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो । “रुइला नाका खुलाउने विषयमा धेरै पहिलेदेखि नै कुरा भइरहेको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने विश्वास दिलाउन चाहन्छु ।”
प्रधानमन्त्री दाहालले राष्ट्रिय योजना आयोगसँग छलफल गरेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त मोटरबाटो निर्माणको योजना अघि बढाउने र हवाई उडान निषेधित क्षेत्रको सन्दर्भमा आवश्यक अध्ययन गरेर जनताका समस्याको उचित सम्बोधन गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।