९ कात्तिक काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौंका चोकचोकमा ‘नो हर्न’ लेखिएका प्ले कार्डसहित अनावश्यक हर्नको प्रयोग निरुत्साहन अभियान थालेको छ । ट्राफिक प्रहरीले कात्तिक १ गतेदेखि सडक सचेतना जगाउन प्रहरीले प्लेकार्डसहित सवारी चालकलाई अनावश्यक हर्न नबजाउन अनुरोध गर्न थालेको हो ।
काठमाडौं उपत्यकामा २०७४ वैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो । सुरुआती दिनमा ‘नो हर्न’ अभियान प्रभावकारी भए पनि फेरि हर्नको प्रयोग बढ्न थालेको भन्दै ट्राफिक प्रहरी सक्रिय भएको हो । ध्वनी संकेत दिन निषेध गरेको स्थानमा ध्वनी संकेत दिएमा वा वजाएमा ट्राफिक नियम उल्लंघन हुने स्पष्ट व्यवस्था छ ।
कानुनी व्यवस्था हुँदाहुँदै पनि कतिपय चालकहरुले लापरवाही गर्दै आएको प्रहरीको भनाइ छ ।गत आर्थिक वर्ष २०८०र८१ मा अनावश्यक रुपमा हर्नको प्रयोग गर्ने १० हजार १२३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरिएको थियो । यो वर्ष पनि १३ हजार तीन सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने लगायत असर गर्ने गर्दछ ।जथाभावी हर्न बजाउँदा पैदलयात्री र त्यसमा पनि बालबालिका, जेष्ठ नागरिक, गर्भवती महिला, अशक्त बिरामी बढी मारमा पर्ने गरेको ट्राफिक प्रहरीले बताए ।