११ कात्तिक काठमाडौँ । आईएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा नेपालले शनिबार कम्तीमा रजत पदक पक्का गरेको छ । यु–१८ उमेरसमूहको आईएसएफ जिम्नासाइडको पुरुष ८० केजीमुनि युथमा नेपालका नोर्बु थेन्डुप शेर्पा फाइनलमा प्रवेश गरेसंगै रजत पदक पक्का भएको हो । नेपालकै सूर्यान वैद्यले भने कांस्य जितेका छन् ।बहराइनको मानामास्थित अल अहली क्लबमा भएको सेमिफाइनलमा नोर्बुले बहराइनका अनास अल जलाकीलाई आरएससी ९रेफ्री स्टोप कन्टेस्ट० का आधारमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे ।
प्रतिद्वन्द्वीलाई बारम्बर मुक्का प्रहार गर्ने खेलाडीलाई निर्णायकले आरएससीका आधारमा विजेता गर्ने प्रावधान छ । मंगलबार हुने फाइनलमा नोर्बुको भेट ब्राजिलका रेजेन्डे डि क्रुजसंग हुने प्रशिक्षक दीपक महर्जनले जनाएका छन् । दीपक उनै खेलाडी हुन् जसले ग्वाङझाव एसियाडमा नेपाललाई पदकविहीन हुनबाट जोगएका थिए । त्यो एसियाडमा दीपकले कांस्य जित्दै नेपालको पदक खडेरी तोडेका थिए ।नोर्बुको स्पर्धामा चार राष्ट्रका त्यत्ति नै खेलाडी थिए ।
दोश्रो अन्तर्राष्ट्रिय सहभागितामै नोर्बु पदक जित्न सफल भए । करिब १ वर्षअघि अर्मेनियामा भएको जुनियर विश्व बक्सिङ च्याम्पियनसिप उनको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । नोर्बु राष्ट्रियस्तरको बक्सिङ प्रतियोगितामा आफ्नो तौलसमूहका रजत विजेता हुन् । करिब ५ वर्षअघि बक्सिङ खेल्न सुरु गरेका कपन बस्ने नोर्बु लोयल्टी एकेडेमीका कक्षा १२ मा अध्ययनरत छन् ।खेलपछि छोटो प्रतिक्रया दिदै नोर्बुले रजत पदक पक्का गर्न पाएकोमा खुशी व्यक्त गर्दै स्वर्णका लागि सक्दो प्रयास गर्ने बताए ।देशलाई र करियरको पहिलो पदक पक्का गर्न पाएको एकदमै खुशी र गर्व लगेको छ ।
फाइनलमा अझ उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जित्ने प्रयास गर्ने छु ।’– नोर्बुले भने । प्रशिक्षक महर्जनले सोचे अनुरुपको प्रदर्शन गरेको बताउदै नोर्बुबाट स्वर्णको आशा गरेको बताए ।यसअघि शनिबारै भएको जुनियर पुरुष ८० केजीमुनि नेपालका सूर्यान वैद्य पराजित भए । सूर्यान सेमिफाइनलमा युक्रेनका हलिब इभान्चुकसंग ४–१ ले चुके । ५ राष्ट्रका पाँचै खेलाडी सहभागी स्पर्धामा वाइ पाउदै सूर्यान सेमिफाइनलमा प्रवेश गरेकाले उनको पनि कांस्य पदक निश्चित भएको छ ।नेपालबाट बक्सिङमा ५ खेलाडी सहभागी छन् । २ खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी छ । पुरुष ४६ केजीमुनि रोहित जनालाले अर्मेनिया तथा महिला ५४ केजीमुनि स्वस्तिका तिरुवाले ब्राजिलकी खेलाडीसंग सोमबार प्रतिस्पर्धा गर्ने छन् । पुरुष ६३ केजीमुनि नेपालका युनिक राईको चुनौती समाप्त भइसकेको छ ।
बक्सिङमा नेपालका अनिलप्रसाद दाहालले निर्णायकाको भूमिका निर्वाह गरिरहेका छन् । प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने दाहाल एक्लो नेपाली हुन् । प्रतियोगितामा समावेश २६ खेल मध्ये नेपाल ५ खेलमा सहभागी छ ।