नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले धनगढीमा धितोपत्र सम्बन्धी जानकारीमुलक कार्यक्रम सञ्चालन गरेको छ।
नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको २०७७ पुस २७ को निर्देशन बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।
नेपालको सेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ र धितोपत्र सम्बन्धी नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम तथा निर्देशनहरुमा भएको व्यवस्था बारेमा जानकारी दिने र धितोपत्र व्यावसायी तथा मर्चेन्ट बैंकरहरुको काम, कर्तव्य र अधिकारहरुका बारेमा कार्यक्रममा छलफल गरिएको थियो।
हालसम्म प्रदेश नम्बर ४ र प्रदेश नम्बर ७ मा सञ्चालन गरिएको यस्तो कार्यक्रम निकट भविष्यमा देशको सातै प्रदेशमा सञ्चालन गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा कम्पनीका इन्भेस्टमेन्ट बैंकिङ विभाग प्रमुख विकाशचन्द्र भण्डारीले विद्यमान नेपालको धितोपत्र बजारबाट लिन सकिने फाइदा र मर्चेन्ट बैंकरहरुले प्रदान गर्ने सेवाहरुको बारेमा प्रकाश पारेका थिए।
स्थापना कालको १२औं वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गर्दै गर्दा कम्पनीले आफ्ना ग्राहकहरुलाई दक्ष तथा अनुभवी कर्मचारीहरु सहित उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ।
५० लाख भन्दा बढी डिम्याट खाता खुली सकेको नेपालको धितोपत्र बजारमा २६ लाख भन्दा बढी प्राथमिक निष्कासनमा आवेदन पर्न थालिसकेको छ।
यस्तो अवस्थामा धितोपत्र बजार सम्बन्धी यथार्थ जानकारी तथा यसमा कसरी प्रवेश गर्न सकिन्छ र यसबाट लिन सकिने फाइदा तथा यसबाट हुने जोखिमहरुको बारेमा जानकारी दिनु नै यस कार्यक्रमको पहिलो उद्देश्य रहेको कम्पनीले जनाएको छ।