२६ मंसिर काठमाडौँ । झापा बिर्तामोडका पूर्व नगरप्रमुख ध्रुबकुमार शिवाकोटीलाई जिल्ला अदालत झापाले चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।सोमबार आफ्नै घरमा घरेलु कामदारको रुपमा राखिएको बालिकालाई पटक –पटक जबरजस्ती करणी बलात्कार गरेको आरोपमा पक्राउ परेका शिवाकोटीलाई मङ्गलबार अनुसन्धानका लागि चार दिन समय थप भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताउनुभयो ।
यता लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला बालिका बलात्कार जस्तो जघन्य अपराधमा पक्राउ परेका शिवाकोटीमाथि सत्यतथ्य छानविन गरी हदैसम्मको कारबाही गर्न चार राजनैतिक दलका महिला सङ्गठनले माग गरेका छन् ।
बलात्कारजस्तो जघन्य अपराधमा पक्राउ परेका शिवाकोटीलाई जोगाउने षड्यन्त्र भइरहेको भन्दै विभिन्न राजनीतिक दलनिकट महिला सङ्गठनहरुले प्रेस विज्ञप्तिमार्फत प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।
अनेम संघ ९क्रान्तिकारी० झापाका अध्यक्ष तारा श्रेष्ठ, अनेम संघ (समाजवादी) झापाका अध्यक्ष हरिमाया मैनाली, राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन झापाका सचिव शिखा खड्का (गणेश) र अनेम संघ (क्रान्तिकारी )झापाका अध्यक्ष दिलकुमारी सीले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै खबरदारी गर्नुभएको हो ।