१० कार्तिक काठमाडौँ। चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीस्थित पृथ्वी राजमार्गमा ट्रक, बस र माइक्रोबस एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्। आज बिहान करिब ८ः४५ बजे तीनवटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबस संलग्न रहेका छन्।
दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको ६६ जनाको टोलीले घाइतेहरूको उद्धार गरेको थियो। उद्धार गरिएका घाइतेहरूलाई स्थानीय अस्पताल तथा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ। घाइतेहरूको अवस्थाबारे थप विवरण प्राप्त भएको छैन।
दुर्घटनाका कारण पृथ्वी राजमार्गको उक्त खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। दुर्घटनापछि सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित बनेको छ।दुर्घटना कसरी भयो भन्नेबारे थप विवरण आउन बाँकी छ।