१२ बैशाख काठमाडौ। तनहुँ क्षेत्र १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ। मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित डा. वाग्लेलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।
डा. वाग्ले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी भए। सो अवसरमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. वाग्लेले तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।
डा. वाग्लेले जिल्लाका सबै राजनीतिक दलसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताए। नीति, क्षमता सही भएको खण्डमा देश विकास सम्भव रहेको जनाउँदै सामूहिक प्रयासलाई इमानदारीपूर्वक निभाउने बताए।
मुख्य निर्वाचन अधिकृत आचार्यले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गरे। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए ।