३ पुस काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं. ८ जराङमा १७ औँ जराङ कप २०८२ आयोजना हुने भएको छ। जराङस्थित जनप्रेमी युवा क्लबको आयोजनामा खुल्ला सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता हरेक वर्ष सञ्चालन हुँदै आएको क्लबका अध्यक्ष प्रज्वल देवकोटाले जानकारी दिनुभयो। प्रतियोगिता माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुनेछ। “जराङको विकास, अनुशासन र गतिशीलता” भन्ने मूल नारासहित युवामा निहित प्रतिभा र खेलस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको १७ औँ संस्करणको प्रतियोगिता वडा नं. ८ स्थित तल्लो जराङ खेलमैदानमा हुनेछ।प्रतियोगितामा विजेता टिमलाई नगद रु १ लाख १२ हजार २ सय २२ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता टिमलाई नगद रु ५७ हजार ७ सय ७७ रुपैयाँ सहित मेडल र प्रमाणपत्र दिइने क्लबले जनाएको छ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई नगद रु २,००० र कप, उत्कृष्ट गोलकिपरलाई नगद रु २,००० र कप, उत्कृष्ट डिफेन्सलाई नगद रु २,००० र कप तथा सर्वाधिक गोलकर्तालाई नगद रु २,००० र कप प्रदान गरिनेछ। प्रत्येक खेलका म्यान अफ द म्याचलाई पनि मेडल दिएर सम्मान गरिनेछ। खेल अवधिभर कार्ड नपाएमा उक्त कार्ड शुल्क फिर्ता गरिने क्लबले जनाएको छ। टिम दर्ता गर्नका लागि ९८६६४४१२३१, ९८६९७७६२९६, ९८६०५५७८७६ नम्बरमा सम्पर्क गर्न सकिनेछ। प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरका विभिन्न क्लब तथा टिमहरुको सहभागिता रहने जनाइएको छ । प्रतियोगितामा सहभागिता जनाउन इच्छुक टिमले माघ १ सम्ममा टिम दर्ता गराइसक्नुपर्ने आयोजकले जानकारी दिएको छ । माघ १ गते उद्घाटनसँगै खेल सुरु हुनेछ। प्रत्येक टिममा १० जना खेलाडी र २ जना अफिसियल अनिवार्य रहनेछन्।
प्रतियोगिता फिफा तथा एन्फाको नियमअनुसार सञ्चालन हुनेछ। खेल अवधिभर खेलाडीलाई चोटपटक वा दुर्घटना भएमा आयोजकले प्राथमिक उपचार मात्र उपलब्ध गराउनेछ। प्रतियोगिताका क्रममा उत्पन्न हुने विवाद वा झडपमा आयोजक समितिको निर्णय अन्तिम हुने क्लबले स्पष्ट पारेको छ।
जिल्लाको खेलकुद विकासमा योगदान पु¥याउने उद्देश्यका साथ क्लबले बिगत १७ बर्षदेखि फुटवल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।जनप्रेमी युवा क्लबले यस किसिमका प्रतियोगिताले स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै अनुशासन, सहकार्य र नेतृत्व विकासमा टेवा पुग्ने विश्वास लिएको छ । साथै, ग्रामीण क्षेत्रमा खेलकुद गतिविधि विस्तार भई प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुग्ने अपेक्षा क्लबले लिएको उहाँले बताउनुभयो ।