Logo

मंगलवार, कार्तिक ११ गते २०८३

दोस्रो झापा महिला गोल्डकपको विजेताले ११ लाख पाउने, आठ टोली सहभागी हुने

दोस्रो झापा महिला गोल्डकपको विजेताले ११ लाख पाउने, आठ टोली सहभागी हुने

जोईन खबर

११, कार्तिक २०८३
  • 196
    SHARES
  • दोस्रो झापा महिला गोल्डकपको विजेताले ११ लाख पाउने, आठ टोली सहभागी हुने

    १० कार्तिक काठमाडौँ । दोस्रो संस्करणको झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँसहित आकर्षक ट्रफी प्राप्त गर्ने भएको छ। प्रतियोगिताको पहिलो संस्करणमा विजेताले १० लाख १० हजार रुपैयाँ प्राप्त गरेको थियो। यसपटक विजेताको पुरस्कार राशि बढाएर ११ लाख रुपैयाँ पुर्‍याइएको हो।

    images

    झापा महिला गोल्डकप आयोजक समितिका अनुसार प्रतियोगिता आगामी मंसिर ५ गतेदेखि १२ गतेसम्म झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सञ्चालन हुनेछ। प्रतियोगिताबारे जानकारी दिन आयोजक समितिले दुधे रंगशालामा पत्रकार सम्मेलन आयोजना गरेको थियो।

    images
    images
    images

    आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिताको उपविजेता टोलीले नगद पाँच लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। गत संस्करणमा उपविजेता टोलीलाई पाँच लाख रुपैयाँ प्रदान गरिएको थियो।

    प्रतियोगितामा तीन विभागीय टोली एपीएफ एफसी, नेपाल पुलिस एफसी र त्रिभुवन आर्मी एफसीसहित नेपालका ए डिभिजन क्लब, भारत, भुटान तथा आयोजक टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा कुल आठ टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।

    सर्वोत्कृष्ट खेलाडीलाई एक लाख ५० हजार

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ।

    प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द म्याच बन्ने खेलाडीले नगद १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। खेलाडीको व्यक्तिगत प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न विधामा पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

    एक करोड २५ लाख खर्च हुने अनुमान

    दोस्रो झापा महिला गोल्डकप सञ्चालन गर्न करिब एक करोड २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगितालाई व्यवस्थित र भव्य बनाउन दुधे रंगशालाको स्तरोन्नतिको कामसमेत तीव्र पारिएको छ।करिब १२ हजार दर्शक क्षमताको रंगशालाको पूर्वी भागमा मेटलको प्यारापिट निर्माण गरिनेछ। साथै, बाँसको अस्थायी प्यारापिट निर्माण र खेलमैदानको स्तरोन्नति गर्ने काम भइरहेको आयोजक समितिका अध्यक्ष थोप्राले जानकारी दिए।

    उनका अनुसार रंगशालाको स्तरोन्नति तथा बाँसको अस्थायी प्यारापिट निर्माणको काम कात्तिक तेस्रो सातासम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

    टिकट बिक्रीबाट प्राप्त रकम सामाजिक कार्यमा

    प्रतियोगितालाई खेलकुदसँगै सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले टिकट बिक्रीबाट प्राप्त रकमको केही हिस्सा सामाजिक कार्यमा खर्च गरिने भएको छ।

    अध्यक्ष थोप्राका अनुसार गोल्डकपमा बिक्री हुने प्रत्येक टिकटबाट १० रुपैयाँ आदिवासी नेत्रहीन संघ र अटिजम भएका बालबालिका अध्ययनरत एक विद्यालयलाई प्रदान गरिनेछ। यस पहलले प्रतियोगितामार्फत सामाजिक संस्थालाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    पहिलो संस्करणको उपाधि नेपाल पुलिसलाई झापा महिला गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस फुटबल क्लबले जितेको थियो। एपीएफ एफसीविरुद्ध मिना देउवाले गरेको एक गोलको मद्दतमा नेपाल पुलिस च्याम्पियन बनेको थियो।

    पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करणलाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने तयारीमा आयोजक जुटेको छ। पुरस्कार राशि वृद्धि, रंगशालाको स्तरोन्नति तथा विभिन्न क्लबको सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।प्रतियोगिताको मुख्य प्रायोजक एग्रो थाई फुड्स प्रालिको उत्पादन एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको आयोजकले जनाएको छ।

    प्रकाशित मिति :कार्तिक ११, २०८३ मंगलवार - १०:२८:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको