१५ भदौ काठमाडौँ । रसुवामा भदौ १० गते बिहान आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि ‘नेपाली कांग्रेस विपत् व्यवस्थापन कोष’ सञ्चालनमा ल्याएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरले भदौ १२ गते जारी गरेको सूचनामार्फत पार्टीका केन्द्रदेखि स्थानीय तहसम्मका पदाधिकारी तथा सदस्यहरूलाई कोषमा आर्थिक सहयोग गर्न अनुरोध गरेको हो।
कांग्रेसका अनुसार भदौ १० गते बिहान रसुवामा आकस्मिक रूपमा आएको भीषण बाढीका कारण कयौंको मृत्यु भएको, कयौं बेपत्ता भएको तथा अर्बौं रुपैयाँ बराबरको भौतिक क्षति भएको घटनाले सिंगो देशलाई स्तब्ध र मर्माहत बनाएको छ।
यसअघि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भदौ १० गते बसेको आकस्मिक बैठकले बाढी प्रभावित क्षेत्रका पीडित परिवारलाई सहयोग गर्न नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट सहयोग गर्ने निर्णय गरिसकेको थियो।
सोही निर्णयअनुसार पार्टीको विपत् व्यवस्थापन कोषमा रकम जम्मा गर्न केन्द्र, प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र तथा पालिका तहका पदाधिकारी एवं सदस्यहरूलाई निर्देशन दिइएको हो।
कोषमा रकम जम्मा गर्ने विवरण
खातावालाको नामस् नेपाली कांग्रेस विपत् व्यवस्थापन कोष
बैंक : नेपाल बैंक लिमिटेड
शाखा : कुपण्डोल
खाता नम्बर : १३५००१००१५६९७२०००००१
कांग्रेसले पार्टी संगठनमा आबद्ध नेता तथा कार्यकर्तालाई आफ्नो क्षमता अनुसार कोषमा आर्थिक सहयोग गर्न आग्रह गरेको छ।
यद्यपि, सूचनामा पार्टी संगठनका साथीहरू बाहेक अन्य व्यक्तिसँग सहयोग माग्न वा उक्त खाता नम्बर उपलब्ध गराउन नपाइने स्पष्ट उल्लेख गरिएको छ।
नेपाली कांग्रेसका का।वा। मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनामा विपद्को यस घडीमा पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई पीडितको सहयोगमा एकजुट हुन आग्रह गरिएको छ।
