११ असोज काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर रूपमा गर्न लागेको १५औँ महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्वलाई प्राथमिकता दिने भएको छ। समूहले तयार पारिरहेको निर्वाचन निर्देशिकामा वडादेखि केन्द्रसम्मका कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका युवाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गर्न लागेको हो।
निर्देशिका निर्माणमा संलग्न स्रोतका अनुसार निर्वाचित हुने सबै तहका कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका एक जना महिला र एक जना पुरुष नवयुवा अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।स्रोतले भनेको छ, ‘निर्वाचित हुने सबै तहका कार्यसमितिहरूमा एक जना १८ देखि २८ वर्षसम्मको महिला र एक जना १८ देखि २८ वर्षसम्मको नवयुवा अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।’
निर्देशिकामा समावेशी क्लस्टरबाट निर्वाचित हुने प्रतिनिधिमा समेत १८ देखि २८ वर्ष उमेर समूहका कम्तीमा एक महिला र एक पुरुष नवयुवालाई समेट्नुपर्ने प्रावधान राखिएको छ। तर कुनै स्थानमा उक्त उमेर समूहका उम्मेदवार वा प्रतिनिधि उपलब्ध नभए अन्य उमेर समूह वा अन्य क्लस्टरबाट पदपूर्ति गर्न सकिने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
देउवा समूहले १५औँ महाधिवेशनका लागि पूर्वमहामन्त्री डा। शशांक कोइरालाको संयोजकत्वमा तयारी समिति गठन गरेको छ। उक्त समूहले असोज १५ गते वडा अधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ भने केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा गर्ने तयारी गरेको छ। युवा सहभागितासँगै निर्देशिकामा विषयविज्ञको प्रतिनिधित्वलाई समेत समेट्ने व्यवस्था गरिएको बताइएको छ। निर्देशिकालाई अन्तिम रूप दिने प्रक्रिया अघि बढिरहेको जनाइएको छ।
यसअघि कांग्रेसको संशोधित विधानले समेत विभिन्न तहमा महिला तथा युवा प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ। कांग्रेसको मूल महाधिवेशन प्रक्रियामा ३० वर्षमुनिका युवाको प्रतिनिधित्वका लागि विभिन्न तहमा प्रावधान राखिएको छ।देउवा समूहले अघि सारेको यो व्यवस्थाले १५औँ महाधिवेशनमा नयाँ पुस्ताको सहभागितालाई संगठनात्मक संरचनामै सुनिश्चित गर्ने प्रयास गरेको देखिन्छ।