२२ असोज गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न –४ रञ्चोकमा यस वर्ष पनि ‘छैटौं रञ्चोक कप २०८३’ आयोजना हुने भएको छ। दियालो युवा क्लब रञ्चोकको आयोजनामा शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर खुला गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितासहित विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो।
हरेक वर्ष आयोजना हुँदै आएको रञ्चोक कपलाई यस वर्ष पनि निरन्तरता दिइएको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन तथा कार्यक्रम अवलोकन गर्न खेलप्रेमी, स्थानीयवासी र शुभेच्छुकलाई आयोजकले आग्रह गरेको छ।प्रतियोगितामा खुला गाउँस्तरीय पुरुष भलिबलसँगै नाच प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता, बाँसमा चढेर कुखुरा समाउनेलगायत विभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन्।
भलिबल प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघ ९ँक्ष्ख्द्य० को नियमअनुसार सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी प्रत्येक टोलीमा एउटै गाउँका खेलाडी मात्र हुनुपर्ने व्यवस्था गरिएको छ। नियमविपरीत अन्य गाउँका खेलाडी सहभागी गराइएको प्रमाणित भएमा सम्बन्धित टोलीविरुद्ध प्रोटेस्ट गर्न सकिने जनाइएको छ।
खेलका क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्री तथा आयोजकको निर्णय नै अन्तिम हुने आयोजकले स्पष्ट पारेको छ। सहभागी खेलाडीहरू निर्धारित समयमा नै खेल मैदानमा उपस्थित हुनुपर्ने तथा भलिबलका अन्य प्रचलित नियमसमेत लागू हुने जनाइएको छ।
आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य स्थानीयस्तरबाट उत्कृष्ट खेलाडी उत्पादन गर्नु, युवालाई खेलकुदतर्फ आकर्षित गर्नु तथा समुदायमा आपसी एकता र सद्भाव कायम गर्नु हो।
त्यसैगरी, कार्यक्रमबाट संकलित रकममार्फत एक थान उत्कृष्ट साउण्ड सिस्टम खरिद गर्ने र आगामी दिनमा खेलकुद तथा सांस्कृतिक कार्यक्रमलाई अझ व्यवस्थित तथा प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यसमेत राखिएको छ।‘खेल खेलौं, स्वस्थ रहौं, समाजलाई एक बनाऔं’ भन्ने नाराका साथ आयोजना हुन लागेको रञ्चोक कपले स्थानीय युवाको प्रतिभा प्रस्फुटनसँगै कला, संस्कृति र मनोरञ्जनलाई समेत जोड्ने आयोजकको विश्वास छ।
कार्यक्रममा पुरुष भलिबल प्रतियोगिताका अतिरिक्त नाच प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता, बाँसमा चढेर कुखुरा समाउने प्रतियोगितालगायत आकर्षक कार्यक्रम सञ्चालन हुनेछन्।दियालो युवा क्लब रञ्चोकले सम्पूर्ण खेलाडी, खेलप्रेमी, स्थानीयवासी तथा शुभेच्छुकलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन आग्रह गरेको छ।