९ कार्तिक काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँको बिदा सकिएसँगै सोमबारदेखि सरकारी कार्यालयहरू पुनः सञ्चालनमा आएका छन्। सरकारी कार्यालय खुलेसँगै काठमाडौं उपत्यकामा चहलपहल बढेको छ।
असोज ३१ गते फूलपातीदेखि कार्तिक ८ गतेसम्म दिइएको दसैँ बिदा सकिएपछि सरकारी कार्यालयहरूले नियमित सेवा सुरु गरेका हुन्। कार्यालयहरू खुल्न थालेसँगै दसैँका लागि बन्द भएका व्यापार तथा व्यवसाय पनि क्रमशः सञ्चालनमा आउन थालेका छन्।
यसैबीच, दसैँ मनाउन आफ्नो घर गएका सर्वसाधारण काठमाडौं फर्कने क्रम पनि बढेको छ। उपत्यका भित्रिने यात्रुको चाप बढ्दै गएको ट्राफिक प्रहरीले जनाएको छ।
दसैँ बिदापछि जनजीवन सामान्य लयमा फर्किन थालेसँगै राजधानीको बजार तथा सडक क्षेत्रमा चहलपहल बढेको छ।