काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक बिहीबार बस्ने भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अनुसार बिहीबार बैठक बस्ने भएको हो ।
बैठकमा आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धनमा आबद्ध दलहरूको समीकरणका विषयमा छलफल हुने बताइएको छ ।
बुधबार चितवन पुगेका प्रचण्डले चुनावी तालमेल केन्द्रबाट नै हुने बताए । “महानगर र उपमहानगरपालिकालाई केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलेको छ । बिहीबार बस्ने गठबन्धनको बैठकबाट केही न केही निर्णयमा छौँ,” उनले भने ।
तर, सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले चुनावी तालमेल स्थानीय तहले आवश्यक्ताअनुसार गर्ने निर्णय गरिसकेको छ । सो निर्णयपश्चात् गठबन्धनमा आबद्ध दलहरू समीकरण बनाउन छलफलमा जुट्न लागेका हुन् ।
अध्यक्ष प्रचण्डले कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बीचमा आवश्यकताअनुसार तालमेल हुने कुरालाई स्पष्ट पारेको पनि बताए ।