३० साउन काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक स्वार्थ तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग बनाइए आयोगले पीडितलाई न्याय दिन नसक्ने बताए । बुधबार प्रतिनिधि सभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’को प्रतिवेदन माथिको छलफलमा बोल्दै उनले शान्ति प्रक्रियाको काम अगाडि बढ्नु सकारात्मक भएको बताए ।
संक्रमणकालीन न्याय निरुपणका गाँठा फुकाउने गरी कानुन त बन्ने भयो ।राजनीतिक स्वार्थ र दलीय भागवण्डाका आधारमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग बनाइए आयोगले पीडितलाई न्याय दिन नसक्ने उनले बताए ।
आयोगमा पीडित पक्षको पनि सहभागिता गराउनु उपयुक्त हुने लामिछानेले सुझाव दिए ।मेलमिलापका लागि पीडकका पक्षले पीडितलाई दबाव र प्रभावमा खतरा जहिले पनि रहने उल्लेख गर्दै उनले राजनीतिक नियुक्ति हुने महान्यायधिवक्ताले आयोगमार्फत रायका लागि आउने घटनामा दलीय स्वार्थ राख्ने सम्भावना पनि त्यतिकै रहने बताए । यी दुवै विषयमा सचेतना र सकारात्मक खबरदारी आवश्यक रहेको उनको भनाइ छ ।साथै शान्ति प्रक्रियामा आफूहरुको सधैं सकारात्मक सहयोग रहने प्रतिवद्धता उनले जनाए ।