१७ जेठ काठमाडौ । खप्तड शैलेश्वरी म्याराथनमा बुधबार आयोजना गरिएको प्रतियोगितामा खप्तड राष्ट्रिय निकुञ्जभित्र पर्ने खप्तडको ३ हजार ३ सय फिट अग्लो उचाइबाट डोटी सिलगढीस्थित टुँडिखेलसम्म ४२ किलोमिटर दूरीलाई दुई घण्टा ३७ मिनेट ४६ सेकेन्डमा पार गर्दै खड्का प्रथम हुनुभएको हो ।
प्रतियोगितामा प्रथम भएका खड्काले नगद एक लाख २५ हजार पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकै नरेन्द्रसिंह रावत दोस्रो हुनुभयो । रावतले निर्धारित ४२ किलोमिटरको दूरी २ घण्टा ३९ मिनेट ३४ सेकेन्डमा पार गर्नुभयो ।
प्रतियोगितामा दोस्रो हुनुभएका रावतले ८० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा जुम्लाका कर्णाली स्पोर्टस् क्लबका वीरेन्द्र पाण्डेय तेस्रो हुनुभयो । पाण्डेयले २ घण्टा ४२ मिनेट ४४ सेकेन्डमा दूरी पार गर्दै ५० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो ।
डोटी उद्योग वाणिज्य सङ्घ र सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना तथा नेपाली सेनाको भैरवप्रसाद गणको व्यवस्थापनमा आयोजित खप्तड शैलेश्वरी म्याराथनमा स्वदेशी तथा बिदेसी गरी ४८ जना खेलाडीको सहभागिता रहेको थियो । धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्र खप्तडको प्रचार प्रसार गर्ने उद्देश्यले म्याराथनको आयोजना गरिएको बताइएको छ ।