२५ जेठ काठमाडौ । एसीसी वुमन्स टी २० इमर्जिङ एसिया कपमा नेपालले हङकङमा खेल्ने भएको छ ।थाइल्याण्डले भिसाका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि सोमबारदेखि आयोजना हुन लागेको उक्त प्रतियोगितामा नेपालले सहभागिता जनाउन लागेको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।
नेपालले अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता खेल्न लागेको बताउँदै अध्यक्ष चन्दले मलेसिया गएको टोलीमा कुनै पनि फेरबदल नगरेर प्रतियोगिताका लागि पठाउने जानकारी दिए ।
नेपालले आफ्नो पहिलो खेलमा १३ जुनमा पाकिस्तानसँग खेल्दै प्रतियोगिता सुरु गर्ने छ । यसैगरी १५ जुनमा भारत र १७ जुनमा हङकङसँग खेल्ने छ । अर्को समूहमा भने बंगलादेश, श्रीलंका, मलेसिया र युएईरहेका छन् । बंगलादेश र श्रीलंकाले भने ए टिम पठाउने छन् । दुव समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।