Logo

बुधवार, श्रावण १३ गते २०८३

एसियाली खेलमा लगातार दोश्रो जितसंगै नेपाल क्वाटरफाइनलमा प्रवेश

एसियाली खेलमा लगातार दोश्रो जितसंगै नेपाल क्वाटरफाइनलमा प्रवेश

जोईन खबर

१५, आश्विन २०८०
  • 724
    SHARES
  • एसियाली खेलमा लगातार दोश्रो जितसंगै नेपाल क्वाटरफाइनलमा प्रवेश

    १५ असाेज काठमाडाैँ । हाङन्झाव एसियाडको पुरुष क्रिकेटमा नेपाल आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भएको समूह ‘ए’ को दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनले हरायो ।

    images

    नेपालले अब क्वाटरफाइनलमा भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशमध्ये एक टिमसँग खेल्ने छ । यी पाँच टिम सिधै क्वाटरफाइनल पुगेका हुन् भने नेपालसँगै तीन टिम पहिलो चरण पार गरेर क्वाटरफाइनल पुग्ने छन् ।समूह चरणको खेलहरु सोमबार सकिएपछि क्वाटरफाइनलको ड्र हुनेछ । क्वाटरफाइनल खेल मंगलबार र बुधबारलाई तय गरिएको छ ।

    नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले १९.४ ओभरमा अलआउट हुनुअघि ७४ रन मात्र बनायो । माल्दिभ्सका लागि मुएवियाथ अब्दुल धानीले सर्वाधिक ३६ र सिउस फरिदले १० रन बनाए भने अनयले दोहोरो अंकमा रन जोड्न सकेनन् ।माल्दिभ्सलाई अलआउट गर्न नेपालका अभिनाश बोहराले उत्कृष्ट र कीफायती बलिङ गर्दै ३.४ ओभरमा ११ रन मात्र खर्चेर ६ विकेट लिए ।

    टी–२० अन्तर्राष्ट्रियमा अभिनाश एकै खेलमा ६ विकेट लिने पहिलो नेपाली बलर समेत बने । यसअघि नेपालका सन्दीप लामिछाने र करण केसीले एकै खेलमा समान ५ विकेट लिएका थिए । सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले २७ बलको सामना गर्दै समान ३–३ छक्का र चौका प्रहार गर्दै सर्वाधिक ५२ रन बनाए ।

    पहिलो खेलमा मंगोलियाविरुद्ध सबैभन्दा छिटो शतक पूरा गर्ने रेकर्ड बनाएका कुशल मल्लले २० बलमा दुई छक्का र तीन चौका मद्दतमा नटआउट ४७ रन योगदान गरे ।कुशल भुर्तेल र गुलशन झाले समान ३५ रन बनाए भने विनोद भण्डारी १३ रनमा आउट भए ।नेपालको सुरुआत राम्रो हुन नसकेपनि रोहित र कुशल मल्लले विष्फोटक ब्याटिङ गरेपछि २०० रनको आँकडा पूरा गरेको थियो । ९.३ ओभरमा ६७ रन हुँदा ४ विकेट गुमाएको नेपालले १० ओभरमा ७० रन मात्र बनाएको थियो ।

    त्यसपछि रोहितले गुल्शन झासँग पाँचौ विकेटका लागि ७० रनको साझेदारी गर्दै इनिङलाई सम्हाले । गुल्शन आउट भएपछि रोहित र कुशल मल्लले ६० रनको साझेदारी गरे ।बलिङतर्फ माल्दिभ्सका नाजवान स्माइलले तीन विकेट लिए । नसीर नाइल स्माइल, मोहम्मद म्युभान र थोलाल मोहम्मद रायाले एक÷एक विकेट लिए ।

    प्रकाशित मिति :आश्विन १५, २०८० सोमवार - १०:४४:२४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको