नेपालले एसियाली खेलकुद (एसियाड) को पहिलो क्वाटरफाइनल सानदार ब्याटिङ प्रदर्शन गरेपनि भारतसँग २३ रनले पराजित हुँदै बाहिरिएको छ । जितको लागि २ सय ३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४ छक्कासहित सर्वाधिक ३२ रनको योगदान दिए । सन्दीप जोरा १२ बलमा १ चौका र ३ छक्कासहित २९ रनमा आउट भए । दीपेन्द्र र सन्दीप जोराले पाँचौं विकेटका लागि २० बलमा ४८ रनको साझेदारी गरेका थिए । नेपालले विष्फोटक ब्याटिङका साथ भारतलाई खेलमा दबाबमा राखेको थियो । करण केसी १३ बलमा १ चौका र २ छक्कासहित १८ रनमा नटआउट रहे । भारतका स्पिनर रवि विश्रोईले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । साई किशोरले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । आवेश खानले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए ।

