८ चैत, काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले आज (बुधबार) लाओससँग प्रतिस्पर्धा गर्दैछ ।नेपाल र लाओसबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेदेखि सुरु हुनेछ । रंगशाला प्रवेशका लागि साधारण प्यारापिटतर्फ ५ सय र भीआईपी प्यारापिटतर्फ १ हजार टिकट शुल्क तोकिएको छ ।
नेपालले लाओससँग सन् २०१६ यता पहिलोपल्ट खेल्न लागेको हो । एएफसी सोलिडारिटी कपको फाइनलमा नेपालले लाओसलाई पेनाल्टी शुटआउटमा ३–० ले हराएको थियो । त्यसअघि नियमित समयमा खेल २–२ को बराबरी भएको थियो।
प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताबाटै नेपालका नयाँ प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसले नेपाल टिमको जिम्मेवारी सुरु गर्दैछन् ।मंगलबारको पत्रकार सम्मेलनमा नेपाली टिमका कप्तान किरण चेम्जोङले पनि छोटो तयारी समयका बाबजुद आफूहरु लाओसमाथि प्रभावशाली प्रदर्शन गर्न तयार रहेको बताएका थिए ।
नेपालले १४ चैतमा भुटानसँग खेल्नेछ । तीन टिमबीच एकअर्कासँग खेलेपछि प्राप्त अंकका आधारमा शीर्ष दुई टिमले १७ चैतमा फाइनल खेल्नेछन् । प्रतियोगिताको उपाधि विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र हरेक खेलको प्लेयर अफ द म्याचले २५० अमेरिकी डलर पुरस्कार पाउनेछन् ।

