८ चैत, काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधबार लाओसमाथि २-० को जित हासिल गरेको छ ।
नेपाल फुटबल पछिल्लो केहि महिनादेखि खेलाडी पलायनको समस्यासँग जुधिरहेको छ । राष्ट्रिय टिमबाट नियमित खेल्ने खेलाडीले समेत विदेशलाई गन्तब्य बनाउँदा राष्ट्रिय टिमको सन्तुलन विग्रिएको बुधबार दशरथ रंगशालामा भएको खेलमा प्रष्ट देखिएको छ ।
पहिलो हाफमा अग्रता लिनुका बाबजुद नेपाल टिम लाओसको छाँयामा देखिएको थियो । अधिकांश समय विपक्षीबाट बल खोस्न नेपाली खेलाडी संघर्षरत थिए । पोजिसनअनुसार सुन्दर फुटबल पस्कन नेपाल असफल रह्यो ।
नेपालले पछिल्लोपल्ट कात्तिक २० मा पाकिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । त्यतिबेला नेपाल टिममा रहेका पाँच खेलाडी अहिले अस्ष्ट्रेलिया पुगिसकेका छन् । पाकिस्तानसँग खेलेको टिमका २३ मध्ये १० खेलाडीले मात्र यो प्रतियोगितामा निरन्तरता पाए ।
युवा र कम अनुभवी खेलाडीको बाहुल्य भएको देखेरै नेपालले लाओसविरुद्ध रक्षात्मक रणनीति आत्मसाथ गरेको थियो । ४(३(३ को फर्मेसनमा रोहितदेखि पुजन उपर्कोटीसम्मले रक्षात्मक भूमिकामा आफूलाई सीमित राख्नुपरेको थियो ।
घरेलु मैदानमा ५ हजारबढी दर्शकसामू पराजय टार्नुमै नेपाल टिमले खुसी मनायो ।
‘ टिमको अवस्थाअनुसार हामी रक्षात्मक खेलेका थियौं । पोजिसनमा कमजोर रहेपनि नतिजा हाम्रो हातमा आयो, प्लेयर अफ द म्याच बनेका गोलकर्ता अनन्त तामाङले जितको खुसी साटे ।
नेपाल टिमले तीन दिनको तयारीमा यो प्रतियोगिता खेलेको हो । भुटान र लाओस टिम आइसक्दा पनि नेपाल टिम घोषणा भएको थिएन । नवनियुक्त प्रशिक्षक भिन्सेन्ट अल्वटोए एनेसले शहीद स्मारक ए डिभिजन लिगमा पछिल्लो १५ दिनको खेल हेरेर टिम छानेका थिए ।
हामीसँग नियमित खेलिरहने खेलाडी नहुँदा त्यसो भएको हो,’ पत्रकार सम्मेलनमा अनन्तले भने, ‘भुटानसँगको खेलका लागि हामीले धेरै मिहिनेत गर्नुपर्छ । भुटानमा पनि क्षमतावान खेलाडी छन् । हामीले टिमको सन्तुलन मिलाउनु पर्नेछ ।’
नवनियुक्त इटालियन प्रशिक्षक भिन्सेन्ट अल्वर्टो एनेसका लागि यो खेल पहिलो परीक्षा थियो । उनले नेपालमा आफ्नो कार्यकालको पहिलो जितमा खुसी मनाउन पाउँछन् तर, पक्कै पनि टिमको सुधारका लागि आफ्ना चुनौतिहरु भने थपिएको महशुस गरेका छन् ।
लाओसका प्रशिक्षक माइकल वाइसले आफ्नो युवा टिमको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए । उनले पहिलो खेलको नतिजाबाट निराश नभई भुटानसँगको खेल जितेर फाइनल खेल्नेमा आशावादी रहेको बताए । ‘म मेरा खेलाडीको प्रदर्शनबाट पूर्ण सन्तुष्ट छु । मेरा खेलाडीहरु युवा छन् । उनीहरु सिक्दैछन् । हामी निराश हुँदैनौं र भुटानसँग खेल्नेछौं,’ नेपालको प्रदर्शनबारे उनी भन्छन्, ‘घरेलु टिमको रुपमा उनीहरु अझै राम्रो हुनसक्थे । म उनीहरुको आजको खेल उत्कृष्ट थियो भन्न सक्दिन आशा गर्छु कि हामी फाइनलमा पुनः भेट्नेछौं र त्यतिबेला अझै राम्रो खेल हुनेछ ।’
एपीएफकै मणि लामाले ७३औं मिनेटमा क्लबका साथी खेलाडी नवीन लामालाई प्रतिस्थापन गरी राष्ट्रिय टिमबाट पहिलो खेल खेले । सातदोवाटो युथ क्लबबाट ए डिभिजन लिग खेल्दै उत्कृष्ट प्रदर्शनका आधारमा राष्ट्रिय टिममा बोलाइएका दीपक सिंह ठकुरीले नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरी ८३औं मिनेटमा डेब्यू गरे । जारी लिगको पाँच चरण सकिँदा दीपकले सातदोवाटोका लागि ४ गोल गरेका छन् भने तीन खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् ।
मणि लामा र सुमित श्रेष्ठ फुटसलको राष्ट्रिय टिमका सदस्यसमेत हुन् । यी दुईले गत वर्ष चैतमा फुटसल एसियन कप छनोटमा नेपालको प्रतिनिधित्व गरेका थिए । फुटबल र फुटसल गरी दुवैको राष्ट्रिय टिमबाट खेल्ने सूचीमा अब यी दुईको नामसमेत थपिएको छ । यसअघि विजय गुरुङ, आशिष लामा र नवीन लामाले दुवै राष्ट्रिय टिमबाट खेलेका थिए ।

