१७ चैत, काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको लागि नेपालले आज लाओससँग फाइनल खेल्दैछ । साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका हुन् । नेपालले पहिलो खेलमै लाओसलाई २–० ले पराजित गरेको थियो भने भुटानसँग १–१ को बराबरी खेलेको थियो । लाओसले भने भुटानलाई २–१ ले पराजित गरेको थियो ।
पछिल्लो समय राष्ट्रिय टिमबाट खेल्ने अधिकांश खेलाडीहरु विदेशिँदा नेपाली टोलीमा अहिले नयाँ खेलाडीहरुको बाहुल्य छ । त्यसैले नेपालका नयाँ प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस आफ्नो पहिलो प्रतियोगितामै उपाधि जितेर सुखद सुरुवात गर्ने सोचमा छन् ।
अन्जन भुटान विरुद्धको खेलमा घाइते भएपछि दोस्रो हाफमा मैदान छाडेका थिए । उनले फाइनल खेल्ने सम्भावना कम छ । यस्तै पुजन उपरकोटी दोहोरो पहेँलो कार्डका कारण फाइनलमा खेल्ने छैनन् ।६ नयाँ खेलाडीलाई टिममा राखेका एनेसले पहिलो खेलमै चार खेलाडी सनिश श्रेष्ठ, मणि कुमार लामा, दीपकराज सिंह ठकुरी र सुमित श्रेष्ठलाई डेब्यु गराइसकेका छन् ।