१९ चैत, काठमाडौं । नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ ।खोटाङको दिक्तेलमा जन्मेकी यी नेपाली महिला रेस्लरको प्रतिस्पर्धा नेपालमा मात्र सीमित छैन, विभिन्न देशमा खेलेर अन्तर्राष्ट्रिय अवार्ड पनि हात पारेकी छन् ।
‘रेस्लिङ हेर्दा थोरै वास्तविकता धेरै नाटक भन्ने आम मानिसलाई लाग्न सक्छ तर मैले खेल्ने रेस्लिङ मनोरञ्जन नभई पूरै वास्तविकता हुन्छ’, नेपाली रेस्लर मुना भन्छिन् ।
महिलाले महिलासँग खेल्ने खेलाडी त धेरै छन् तर हाम्रो समाजमा महिलाले पनि पुरुषसरह खेल्न सक्छन् भन्ने उदाहरण दिनका लागि पनि आफूले पुरुष रेस्लरसँग खेल्ने गरेको उनी बताउँछिन् ।
त्यसो त उनीसँग महिला खेल्न पनि मान्दैनन् । कतिपय देशका महिला खेलाडी पनि उनीसँग खेल्न डराउँछन् । त्यसकारण पनि उहाँ पुरुषसँग खेल्नुपर्ने हुन्छ ।
सन् २०१७ देखि रेस्लिङ सुरु गरेकी मुनाले खेल्ने हरेक खेल नाटकीय नभई यथार्थपरक हुन्छन् । उनले तीन विधामा रेस्लिङ खेल्दै आएकी छन् । जसमा हार्डकोर (साइन गरेर खेल्ने), फायर म्याच (आगोमा खेल्ने) र ब्लड म्याच पर्छन् । यी तीनै खेल ज्यानको बाजी राखेरै खेल्नुपर्छ ।
हार्डकोर मनोरञ्जनभन्दा पनि वास्तविक हुन्छ र यो कठिन हुन्छ । यस खेल खेल्नुअघि पहिला नै खेलाडीलाई खेल दौरान रिङमा केही भइहाले वा ठूलै चोटपटक लागेमा खेलाडीको परिवारले खोज्न या विरोध गर्न पाउँदैन भनेर सुरुमै हस्ताक्षर गराएको हुन्छ । त्यसकारण पनि स्वदेशी तथा विदेशी महिला रेस्लरले उनीसँग खेल्न नमान्ने उनको भनाइ छ ।
‘रिङमा कुटाकुट गरेको दृश्य देख्दा दर्शक जति उत्साहित हुँदै ताली पिट्छन् त्यति नै रिङमा आफूले जोखिम उठाउनुपर्ने हुन्छ, कहिलेकाहीँ त ज्यानै जाने सम्भावना पनि हुन्छ । यसकारण पनि महिला खेलाडी यस खेलमा त्यति उत्साहित छैनन्’, उनको अनुभव छ ।
हाल उनको कम्पनीमा १९ जना महिला रेस्लर रहेका छन् । यसै कम्पनीबाट पछिल्लोपटक उनले भारतमा यसै महिना सम्पन्न अन्तर्राष्ट्रिय रेस्लिङ च्याम्पियनसीपमा भारतीय खेलाडीलाई पछि पार्दै उपाधि जितिन् ।
त्यसअघि उनले सन् २०१९ मा नेपालमा भएको एसियन अन्तर्राष्ट्रिय महिला रेस्लिङ च्याम्पियनसीपमा भारतीय खेलाडीलाई पराजित गर्दै उपाधि हासिल गरेकी हुन् ।
‘आफूभन्दा धेरै उचाइ र तौल भएको पुरुष खेलाडीसँग खेल्न गाह्रो नै हुन्छ । शरीरका जुनसुकै भागमा पनि प्रहार गर्न सक्छन् । कतिपय खेलमा त दुई मिनेटसम्म बेहोस भएको स्थिति पनि छ तर दर्शकको हुटिङले गर्दा उठेर त्यस खेलाडीलाई पराजित पनि गरेको छुु, उनी स्मरण गर्छिन् ।
‘खेल खेल्दा महिला पुरुष भन्ने हुँदैन । छातीमा बुटले पनि हानिराखेका हुन्छन् र आफूले पनि प्रहार गरिराखेको भएर खेल खेल्दा यो महिला त्यो पुरुष भन्ने फिल हुँदैन’, उनी भन्छिन् ।
यही चैतमा भारतमा भएको च्याम्पियसीपमा चार दिनसम्म उनलाई अस्पतालमा बस्नुपरेको थियो । खेल दौरान भारतीय खेलाडीले टयुबलाइटले प्रहार गर्दा भोलिपल्ट ७ बजेसम्म रगत रोकिएको थिएन ।
खेलका क्रममा शरीरमा धेरै चोटपटक लागे पनि आफू यसैमा रमाउने भन्दै अबको छ-सात वर्षसम्म रेस्लिङलाई नै निरन्तरता दिने उनी बताउँछिन् ।

