२३ चैत काठमाडौ ।लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति म्याराथनमा खगेन्द्रबहादुर भाट प्रथम हुनुभएको छ। नेपाल प्रहरीका निरन खड्का द्वितीय र श्रीलंकाका अमिला सनाथ तृतीय हुनुभयो। अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसर पारी विकास र शान्तिका लागि बिहीबार बिहान कपिलवस्तुको तिलौराकोटबाट दौड सुरु भएको थियो।

तिलौराकोटबाट विभिन्न बौद्धस्थल हुँदै ४२ किलोमिटर दुरी पार गरेका थिए। प्रतियोगितामा ३३ पुरुष धावक सहभागी भएका थिए। यो वर्षको प्रतियोगिता समापनसँगै दुई सय बढी राष्ट्रका ओलम्पिक कमिटीलाई अर्को वर्षको प्रतियोगिताका लागि समेत निमन्त्रण गरिने छ।
म्याराथनमा प्रथमले एक लाख, द्वितीयले ५० हजार र तृतीय हुनेले २५ हजार नगद प्राप्त गरेको लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिनुभयो। उत्कृष्ट १० औं स्थानसम्म आउनेलाई समेत पुरस्कार दिइएको हो।