८ बैशाख काठमाडौ। एसिसी प्रिमियर कपमा लगातार दोस्रो जितसँगै नेपाल सेमिफाइनदेखि एक कदम टाढा र कुशल मल्लको कीर्तिमानी शतकको सहयोगमा नेपालले ओमानमाथि ८४ रनको सानदार जित हात पारेको छ ।
जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमा अल आउट भयो ।ओमानका मोहम्मद नदीमले ८४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६५ रन बनाए । तर विशाल लक्ष्य पछ्याएको ओमानलाई जितको लागि त्यो पर्याप्त थिएन ।
सन्दीप गौड ५६ बलमा ३ चौका र २ छक्कासहित ४६ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीले ४२ औं ओभरको पहिलो बलमा सन्दीप गौडलाई सोमपाल कामीबाट लङअनमा क्याच गराउँदै उक्त नेपाललाई जित नजिक पुर्याएका थिए । करण केसीको अर्को ओभरमा मिडअफमा रोहित पौडेलले नदिमको उत्कृष्ट क्याच लिएपछि नेपालको जित अनौपचारिकता बाँकी देखिएको थियो ।
ओमानलाई ओपनर जतिन्दर सिंह र कश्याप प्रजापतिले ४.३ ओभरमा ३२ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । स्पिनर ललितनारायण राजवंशीले जतिन्दर सिंहलाई १५ रनमा बोल्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
सन्दीपले १३ औं ओभरको तेस्रो बलमा विकेटकिपर आदिल शफिकलाई १३ रनमा एलबीडब्लू आउट गर्दै आफ्नो करिअरको १ सय विकेट पूरा गरे । उनी ओडिआई इतिहासमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने खेलाडी बनेका छन् । उनले ४२ खेलमा १ सय विकेट पूरा गरेका हुन् । यसअघि अफगानिस्तानका राशिद खानको नाममा ४४ खेलमा १ सय विकेट पूरा गरेको कीर्तिमान थियो ।
नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो । यो नेपालले ओडिआईमा बनाएको हालसम्मकै उच्च योगफल हो । यसअघि नेपालले ओडिआईमा उच्च योगफल अघिल्लो महिना आइसिसी विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा २ सय ९७ रन थियो ।
नेपालका कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्कासहित १ सय ८ रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए । कुशलले ५९ बलमा आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक प्रहार गरेका थिए । उनी नेपालबाट ओडिआईमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बने । कुशलले कप्तान रोहित पौडेलको कीर्तिमान तोडेका हुन् ।
नेपालबाट पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले शतक हानेका थिए । कुशल स्पिनर अकिब इलियासको ४१ औं ओभरको चौथो बलमा मिडअफमा आयन खानबाट क्याच भएका थिए । सोमपाल कामी ४८ बलमा ९ चौकासहित ६३ रनमा नटआउट रहँदै विशाल योगफलमा पुर्याएका थिए ।
नेपालको प्रदर्शन राम्रो हुन सकेन । नेपालले टोलीकै पहिलो रन २८ औं बलमा जोडेको थियो । नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई शून्यमा गुमाएको थियो । तीव्र गतिका बलर बिलाल खानले कुशललाई एलबीडब्लू आउट गरेका थिए ।
चोभार एण्डबाट आएका कलिमुल्लाहको चौथो ओभरको चौथो बलमा आसिफ शेख पनि शून्यमै आउट भए । दुबै ओपनर खाता नखोल्दै आउट भएपनि तेस्रो विकेटका लागि रोहित र भीम सार्कीले ५४ रनको साझेदारी गर्दै इनिङ सम्हाल्लेका थिए ।
रोहितले ३४ बलमा २ चौकासहित २३ रन बनाए । भीम सार्की ३३ रनमा स्टम्पिङ आउट भए । भीम स्पिनर जिशान मकसुदको २१ औं ओभरको तेस्रो बलमा विकेटकिपर अदिल सफिकबाट स्टम्पिङ आउट भए । भीमले ५६ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए ।