१ जेठ काठमाडौ।टी–२० विश्वकपका लागि एसिया क्षेत्रको छनोट खेल नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नोभेम्बर १ देखि १० तारिखसम्म त्रिवि मैदान कीर्तिपुर र मुलपानी मैदानमा छनोट खेल सञ्चालनका लागि अधिकार पाएको छ ।
खेलमा आठ टोलीको सहभागिता रहने जसमा नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) ओमान, हङकङ, सिंगापुर र बहराइन तथा उपक्षेत्रीय छनोट खेलबाट आउने दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । उपक्षेत्रीय छनोटमा समूह ‘ए’ बाट कुवेत, माल्दिभ्स, कतार र साउदी अरब तथा समूह ‘बी’ मा मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्ड रहेका छन् ।
समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल पुग्ने टोलीले विश्वकपमा स्थान बनाउनेछ । घरेलु मैदानमा आयोजना हुने छनोट खेलको फाइनलमा स्थान बनाउन सकेमा नेपालले विश्वकपको यात्रा तय गर्नेछ ।क्रिकेटका एक पछि अर्को सफलता हात पारेको नेपालका लागि टी–२० विश्वकपको एसिया क्षेत्रको छनोटमा स्थान बनाउने राम्रो मौका मिलेको छ । अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा २० देशको सहभागिता रहनेछ ।