३ चैत, काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिगतेश्रो हुँदै विश्वकपको क्वालिफायर स्थानमा पुग्न सफल टिमका राष्ट्रिय क्रिकेट खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन् ।
नेपालले बिहीबार घरेलु मैदानमा यूएईलाई ९ रनले पराजित गर्दै क्रिकेट विश्वकप लिग टु को तेस्रो स्थानमा रहेर विश्वकप क्वालिफायर स्थान पुगेको थियो ।
हिजो तपाईँहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईँहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ। देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ ।
नेपालले एक महिनाको अन्तरमा अदित्तीय प्रदर्शन गर्दै १२ मध्ये ११ खेल जितेको थियो । जसमा घरेलु मैदानमा भएको पछिल्लो दुई शृंखलाको चारै खेल जित्दै यूएईमा भएको चारमध्ये तीन खेल जितेको थियो ।
लिग टु मा ३६ खेलबाट ४० अंक जोड्दै नामिबियालाई पछि पार्दै तेस्रो भएको नेपालले अब जिम्बावेमा आगामी जुन जुलाईमा हुने विश्वकप क्वालिफायर खेल्नेछ ।
खेलाडीलाई ३ लाख दिने घोषणा
प्रधानमन्त्री प्रचण्डले खेलाडीलाई एब जान बराबर ३ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
प्रधानमन्त्रीले भने, ‘यसअघि पनि सरकारले तपाईँहरूलाई एक बराबर जान दुई लाख राशीले पुरस्कृत गरिसकिएको छ। आज म तपाईँहरूलाई एक बराबर जान तीन लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु ।’
यूएई र पपुवा न्युगिनी सम्मिलित शृंखला जितेको र विश्वकप छनोटमा पुग्न सफल टिमले प्रधानमन्त्रीले एक जान बराबर ३ लाख दिने घोषणा गरेका हुन् ।
त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न निर्देशन
प्रधानमन्त्री प्रचण्डले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न खेलकुद परिषदलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारकोतर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

