काठमाडौं, माघ १७ गते ।
भ्याली पब्लिकको ब्वाइज/गल्स दुवै टिम प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेको छ ।
जुनियर ब्वाइजमा भ्याली पब्लिकले गोल्डेनपिकलाई २४–२० ले पराजित गर्यो । भ्याली पब्लिकका निम्साङ तामाङले ६ अंक जोडे । फाइनलमा भ्याली पब्लिकको भेट पारामाउन्ट एकेडेमीसंग हुनेछ । अर्को सेमिफाइनलमा पारामाउन्टले किङडम हिमालयनलाई ३८–२७ ले हराएको थियो । पारामाउन्टका सुशान्त थापाले १२ स्कोर गरे ।
जुनियर गल्र्समा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २७–१५ ले पाखा लगायो । भ्याली पब्लिककी सपना गिरीले १० अंक जोडिन् । उपाधिका लागि भ्याली पब्लिकले फेरिल्यान्डको सामना गर्ने छ । दोश्रो सेमिफाइनलमा फेरिल्यान्डले काष्ठमण्डपमाथि २९–२३ को जित रचेको थियो । फेरिल्यान्डकी करुणा बोगटीले १३ अंक बटुलिन् । फाइनल शुक्रबार हुनेछ ।
इनोभेटिभ र एआईए क्वाटरफाइनलमा
आयोजक इनोभेटिभ ‘ए’ र अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) १० औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बुद्धनगरस्थित घरेलु कोर्टमा इनोभेटिभ ‘ए’ ले एस्फोडेललाई ३४–२० ले पराजित ग¥यो । इनोभेटिभ ‘ए’ का पुजन श्रेष्ठले १४ अंक योगदान गरे । वितेन ज्ञवालीको १४ अंक सहयोगमा एआईएले इनोभेटिभ ‘बी’ लाई २९–१६ ले हरायो ।
सिनियर ब्वाइजमै केएमसीले काभ्यालाई ३०–१८ तथा काठमाडौं जेभियरले नेपाल मेगालाई ४०–२५ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । केएमसीका तन्त्र जोशीले १० तथा काठमाडौं जेभियरका सम्राट शाहले ११ स्कोर गरे । मातृभूमि, हिमाली, नेरिक एकेडेमी र ज्ञान निकेतन पनि क्वाटरफाइनलमा पुग्न सफल भए ।
जुनियर ब्वाइजमा सनसाइनले काभ्यालाई १४–८, काठमाडौं जेभियरले मोडर्नलाई १३–६ र एआईएले इनोभेटिभलाई १५–११ ले पन्छाए । सनसाइनका प्रशान्तले ४, काठमाडौं जेभियरका उत्सवले ६ र एआईएका आदित्य बुढाले १० अंक जोडे ।
सिनियर गल्र्समा इनोभेटिभले नेपाल मेगालाई १५–९ ले पराजित ग¥यो । इनोभेटिभकी सलिना अमात्यले ८ अंक जोडिन् ।
रन्जित सम्मानित
टुक्या तेक्वान्डो डोजाङले तेक्वान्दोका अन्तर्राष्ट्रिय पदक विजेता रन्जितबहादुर डंगौरालाई सम्मान गरेको छ । रन्जितलाई भारतमा भएको सातौं एसिया कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्दै राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गरेकोमा सम्मान गरिएको हो ।
टोखा नगर स्तरीय प्रतियोगिताको समापन कार्यक्रममा रन्जितलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले प्रशंसा पत्रसहित सम्मान गरे । रन्जित एसकेबीसी तेक्वान्दो डोजाङका प्रमुख पनि हुन् । यहि डोजाङ मार्फत रन्जितले तेक्वान्दो गतिविधिलाई अगाडि बढाइरहेको छन् ।
ग्रिनफिल्ड सेमिफाइनलमा
ग्रिनफिल्ड वेस्टर्न रिजन अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
कलंकीस्थित काठमाडौं भ्याली कलेजको कोर्टमा भएको खेलमा ग्रिनफिल्डले राइजिङ स्टारलाई ४६–२४ ले पराजित ग¥यो । ग्रिनफिल्डका पेम्बा तामाङले १० स्कोर गरे ।
ब्वाइजमै मनास्लुले केसीसीएसलाई ५३–३९, हार्टल्यान्डले एडमार्कलाई ३५–२५ र समृद्धिले क्यापिटल हिललाई ४७–१६ ले हराउदै सेमिफाइनलमा स्थान पक्का गरे । मनास्लुका नरिन डिसीले २६, हार्टल्यान्डका राम गमालले २१ र समृद्धिका लोटो गुरुङले १५ अंक जोडे । सेमिफाइनलमा समृद्धिको भेट ग्रिनफिल्डसंग हुनेछ भने मनास्लुले हार्टल्यान्डको सामना गर्ने छ ।
वेस्टर्न रिजनल कलेज कमिटीद्वारा आयोजित प्रतियोगिताअन्तर्गत गल्र्सको सेमिफाइनल जुबिलियन्ट र जेसिस तथा समृद्धि र केसीसीएसबीच हुनेछ ।
प्राज्नालाई स्वर्ण
प्राइम ग्लोबलकी प्राज्ना महर्जनले नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिताको यु–१२ गल्र्स सिंगल्समा बिहीबार स्वर्ण जितेकी छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्राज्नाले आदर्श विद्या मन्दिर (एभीएम) की साइरा शाक्यलाई ३–१ ले पराजित गरिन् । एभीएमकी तया बुङमा राई र जेम्सकी सुहाना महर्जन तेश्रो भए ।
रेड टाइल्सको आयोजनामा भइरहेको प्रतियोगिताको कलेजतर्फ पुरुष सिंगल्समा गण्डकी विश्व विद्यालयका गनन्जय दाहाल र क्याननका हिमाल विष्ट फाइनलमा पुगे । सेमिफाइनलमा गनन्जयले गोल्डेनगेटका सुजन गडाललाई ३–१ तथा हिमाल विष्टले सिड एकेडेमीका प्रवेश बस्नेतलाई ३–० ले पाखा लगाए ।
सोही विधाको महिलामा एभीएमकी इभाना थापाले एभीएमकै आश्मा पहरीलाई ३–० तथा रिड मोडेलकी सुस्मिता खड्काले एभीएमकी वियंका राईलाई ३–१ ले पन्छ्याउदै फाइनलमा स्थान पक्का गरे ।