घटना कार्तिक १९ गते सहिद आशा काजी श्रेष्ठ ‘हिमाल’को स्मृति दिवस
१९ कार्तिक गोरखा । तिहारको उज्यालो खोसिएको त्यो कालो रात स् सहिद आशा काजी श्रेष्ठ ‘हिमाल’का विचार अझै जीवित छन् । २०५९ साल कार्तिक १९ गते, गोरू तिहारको दिन। गाउँघरमा तिहारको रौनक थियो। घरघरमा दीपावलीको तयारी चलिरहेको थियो। देउसी–भैलोका आवाजले गाउँबस्ती गुञ्जिरहेका थिए। मानिसहरू चाडपर्वको खुसी साटासाट गरिरहेका थिए। तर गोरखाको तत्कालीन ताकुकोट गाविस, हालको बारपाक सुलिकोट गाउँपालिका–६, ताकुकोट पाल्खु भञ्ज्याङमा त्यस दिन एउटा यस्तो दुःखद घटना घट्यो, जसले सिंगो गाउँलाई शोक, त्रास र पीडामा डुबायो।
आफ्नो परिवार, आमा, श्रीमती र साना छोराछोरीलाई भेट्न घर आउनुभएका तत्कालीन नेकपा माओवादीका गण्डक ब्युरो सदस्य तथा जनमुक्ति सेनाका सैन्य कमान्डर आशा काजी श्रेष्ठ ‘क। हिमाल’माथि तत्कालीन प्रहरीबाट गोली प्रहार भयो। गोली लागेर गम्भीर घाइते हुनुभएका उहाँले अन्ततः जीवन गुमाउनुभयो।तिहारको उज्यालो एकाएक अन्धकारमा परिणत भयो। देउसी–भैलोको रौनक सुनसान भयो। गाउँमा उत्सवको सट्टा शोक र त्रास फैलियो। ताकुकोटका लागि त्यो दिन एउटा व्यक्तिको मृत्यु मात्र थिएन, एउटा राजनीतिक तथा सामाजिक नेतृत्व, अभिभावक र परिवर्तनको सपना बोकेको व्यक्तित्वको अवसान थियो।
आज पनि कार्तिक १९ गते आउँदा ताकुकोटवासीका स्मृतिमा त्यही कालो रात ताजा भएर आउँछ। उहाँ भौतिक रूपमा हामीमाझ हुनुहुन्न, तर उहाँले समाजमा छोडेर जानुभएको विचार, संघर्ष र योगदान अझै स्मरणीय छन्।
गरिब परिवारमा जन्म, संघर्षबाट निर्माण भएको व्यक्तित्व
२०१९ सालमा गोरखाको तत्कालीन ताकुकोट गाविस, हालको बारपाक सुलिकोट गाउँपालिका–६, ताकुकोट पाल्खु भञ्ज्याङमा आशा काजी श्रेष्ठको जन्म भएको थियो। उहाँ सामान्य तथा आर्थिक रूपमा कमजोर परिवारमा जन्मिनुभएको थियो।चार दाजुभाइ तथा दिदीबहिनीमध्ये उहाँ जेठो छोरा र माइला सन्तान हुनुहुन्थ्यो। पारिवारिक अभाव र ग्रामीण परिवेशमा हुर्किनुभएका उहाँले बाल्यकालदेखि नै समाजमा विद्यमान आर्थिक असमानता, गरिबी, जातीय विभेद र सामाजिक अन्यायलाई नजिकबाट बुझ्ने अवसर पाउनुभयो।
सामान्य पारिवारिक पृष्ठभूमिबाट अघि बढ्दै उहाँले आफ्नो जीवनलाई समाज र समुदायसँग जोड्नुभयो। उहाँको सोचमा व्यक्तिगत प्रगति मात्र होइन, समाजमा रहेका विभेद र असमानता हटाउने जिम्मेवारी पनि महत्त्वपूर्ण थियो।यही सोचले उहाँलाई सैनिक जीवन, शिक्षण पेसा, सामाजिक अभियान र राजनीतिक यात्रासम्म पुर्यायो।
पाँच वर्ष सैनिक सेवा, त्यसपछि शिक्षक बनेर गाउँ फर्किए
आशा काजी श्रेष्ठले तत्कालीन शाही नेपाली सेनामा करिब पाँच वर्ष सेवा गर्नुभएको थियो। सैनिक सेवाका क्रममा उहाँले सैन्य तालिम, अनुशासन र हतियार सञ्चालनसम्बन्धी अनुभव हासिल गर्नुभएको थियो।तर सैनिक संगठनभित्रको तत्कालीन सामन्ती तथा तानाशाही प्रवृत्तिसँग उहाँको प्रगतिशील सोच मेल खान सकेन। त्यसपछि उहाँले सैनिक सेवाबाट अलग भएर आफ्नै गाउँ फर्कने निर्णय गर्नुभयो।
गाउँ फर्किएपछि उहाँले ताकुकोटस्थित सूर्यज्योति माध्यमिक विद्यालयमा अध्यापन सुरु गर्नुभयो। उहाँले अर्थशास्त्र विषय पढाउनुहुन्थ्यो।उहाँका लागि शिक्षण पेसा केवल जागिर थिएन। विद्यालयलाई सामाजिक चेतना फैलाउने र नयाँ पुस्तालाई सचेत बनाउने माध्यमका रूपमा लिनुहुन्थ्यो। विद्यार्थी, शिक्षक र गाउँका अगुवाहरूसँग छलफल गर्ने, सामाजिक विषयमा बहस चलाउने र परिवर्तनको आवश्यकता बुझाउने काममा उहाँ सक्रिय हुनुहुन्थ्यो।
उहाँको अर्को विशेषता थियो—फरक विचार भएका मानिसलाई पनि मिलाएर लैजान सक्ने क्षमता। छलफल र संवादमार्फत साझा धारणा निर्माण गर्न सक्ने उहाँको शैलीलाई त्यसबेलाका स्थानीयवासीले अझै सम्झने गरेका छन्।विद्यालयमा पढाउँदै गर्दा उहाँले राजनीतिक संगठन निर्माण र सामाजिक चेतनाको अभियानलाई पनि निरन्तरता दिनुभयो।
ताकुकोटमा सामाजिक चेतनाको नयाँ अभियान
२०५० सालतिर पुग्दा आशा काजी श्रेष्ठले ताकुकोट क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसक्नुभएको थियो। उहाँलाई गाउँका अधिकांश मानिसले चिन्थे। उहाँका विचार र गतिविधिबारे गाउँमा चर्चा हुने गर्थ्यो।त्यसबेला ग्रामीण समाजमा जातीय विभेद र छुवाछुतको अभ्यास गहिरो थियो। दलित समुदायका मानिसलाई सामाजिक रूपमा हेप्ने, उनीहरूको घरमा पानीसमेत नखानेजस्ता विभेदपूर्ण व्यवहार प्रचलनमा थिए।
यस्तो अवस्थामा आशा काजी श्रेष्ठले छुवाछुतको विरोध गर्नुभयो। दलित समुदायका घरमा पुगेर पानी पिउनुभयो र सबै मानिस समान हुन् भन्ने सन्देश दिनुभयो। ताकुकोट कोटथोकका केही दलित परिवारका सदस्यहरू आज पनि उहाँलाई सम्झँदै भन्ने गर्छन्, “त्यसबेला हाम्रो घरमा आएर पानी पिउने र हामी सबै बराबर हौँ भनेर हौसला दिने व्यक्ति आशा काजी श्रेष्ठ हुनुहुन्थ्यो।”
उहाँको विचारमा जातका आधारमा मानिसलाई ठूलो–सानो बनाउनु सामाजिक अन्याय थियो। महिलाहरू पनि पुरुषसरह काम गर्न, नेतृत्व लिन र समाज निर्माणमा सहभागी हुन सक्षम छन् भन्ने उहाँको स्पष्ट धारणा थियो।गरिबी, जातीय विभेद, लैङ्गिक असमानता र सामाजिक अन्यायविरुद्ध उहाँले गाउँमा चेतना फैलाउनुभयो। समाज परिवर्तन गर्न सबैभन्दा पहिले मानिसको सोच परिवर्तन हुनुपर्छ भन्ने उहाँको मान्यता थियो।यस अर्थमा उहाँको राजनीतिक यात्रा केवल पार्टी संगठन निर्माणमा सीमित थिएन। त्यो स्थानीय समाजको चेतना र सामाजिक सम्बन्ध परिवर्तन गर्ने अभियान पनि थियो।
जनयुद्धमा प्रवेश र भूमिगत राजनीतिक यात्रा
२०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोह अर्थात् जनयुद्ध सुरु गरेपछि गोरखासहित देशका विभिन्न जिल्लामा राजनीतिक गतिविधि तीव्र भए। गोरखाको च्याङ्लीस्थित कृषि विकास बैंक तथा जौबारीस्थित साना किसान बैंकलगायत स्थानमा भएका तत्कालीन माओवादीका प्रारम्भिक कारबाहीका क्रममा किसानका लालपुर्जा बैंकबाट निकालेर सम्बन्धित किसानलाई फिर्ता गरिएको घटनाक्रममा आशा काजी श्रेष्ठ पनि सहभागी हुनुभएको थियो।त्यसपछि उहाँ तत्कालीन राज्य पक्षको निगरानी र खोजीको सूचीमा पर्नुभयो।
फागुन १४ गते सूर्यज्योति माध्यमिक विद्यालयमा अध्यापन गराइरहेको समयमा ठूलो संख्यामा हतियारसहित प्रहरी विद्यालय परिसरमा प्रवेश गरेको थियो। विद्यार्थीहरूले आशा काजी श्रेष्ठलाई प्रहरी आएको खबर गरेपछि उहाँ छेउको कोठाबाट निस्केर भाग्न सफल हुनुभयो।त्यस घटनामा आशा काजी श्रेष्ठलाई लिन आएको प्रहरीले उहाँलाई नभेटेपछि तत्कालीन प्रधानाध्यापक वीरबहादुर गुरुङलाई नियन्त्रणमा लिएर घ्याम्पेसालतर्फ लैजाँदै गर्दा शिक्षक, विद्यार्थी र स्थानीयवासीले विरोध गरेका थिए। प्रहरीले हवाई फायर गरेपछि अवस्था तनावपूर्ण बनेको थियो। त्यस क्रममा सूर्यज्योति माविका शिक्षक उदय देवकोटाको हातमा गोली लागेको थियो।
जराङ क्षेत्रमा पुगेपछि ठूलो संख्यामा स्थानीयवासीले प्रहरीलाई पछ्याएको अवस्थामा प्रहरीले चलाएको गोलीबाट १२ वर्षीय बालक दिलबहादुर रम्तेल र परालको टौवामा बसेका रामप्रसाद भट्ट घाइते भएका थिए। उपचारका लागि लैजाँदै गर्दा दिलबहादुर रम्तेलको झिगाँटे भन्ने स्थानमा मृत्यु भयो। रामप्रसाद भट्ट भने उपचारपछि बाँचे।
यसरी दिलबहादुर रम्तेल जनयुद्धका प्रथम सहिदका रूपमा स्थापित हुनुभयो। उहाँको सम्झनामा जराङडाँडामा जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृति पार्क निर्माणाधीन रहेको छ।आशा काजी श्रेष्ठ भने त्यसपछिका दिनमा भूमिगत राजनीतिक जीवनमा प्रवेश गर्दै पार्टीको जिम्मेवारीमा सक्रिय हुनुभयो। देशमा परिवर्तन, सुशासन, समृद्धि, समावेशिता र सामन्ती राजतन्त्रको अन्त्यका लागि उहाँको भूमिगत यात्रा सुरु भयो।
जेल जीवन, संघर्ष र गोरखा जेल ब्रेकमा योगदान
आशा काजी श्रेष्ठको राजनीतिक जीवनमा जेल अनुभव र गोरखा जेल ब्रेकसँग जोडिएको प्रसङ्ग विशेष स्मरणीय छ।२०५४ सालको स्थानीय निर्वाचनका क्रममा उहाँ तनहुँबाट पक्राउ पर्नुभयो। त्यसपछि उहाँलाई गोरखा जेलमा लगियो। गोरखाबाट सर्लाही हुँदै वीरगन्ज र अन्ततः भद्रगोल जेलसम्म पुर्याइएको थियो।
जेल जीवनका क्रममा पनि उहाँले आफ्नो राजनीतिक विचार र सहयोद्धाहरूसँगको सम्बन्धलाई निरन्तरता दिनुभयो।त्यही समयमा तत्कालीन नेकपा माओवादीका महिला कार्यकर्ताहरू उमा भुजेल, कमला नहर्की ‘सपना’, रीता थापा, एन्जिला विक, सञ्जु अर्याल र मीना मरहट्टालगायतलाई पक्राउ गरी गोरखा जेलमा ल्याइएको थियो।
जेलभित्र आशा काजी श्रेष्ठ र ती महिला कमरेडहरूबीच भेटघाट तथा छलफल भयो। महिला कमरेडहरूलाई जेलबाट बाहिर निस्कन सकिने सम्भावनाबारे उहाँले हौसला र उपाय सुझाउनुभएको सहयोद्धाहरूको स्मरण छ।पछि उमा भुजेल र कमला नहर्कीलगायत महिला बन्दीहरूले सुरुङ खनेर गोरखा जेलबाट भाग्न सफलता प्राप्त गरे। यो घटना तत्कालीन माओवादी आन्दोलनको चर्चित घटनाका रूपमा स्थापित भयो।
जेल ब्रेकको नेतृत्व गर्नुभएकी कमला नहर्कीले विभिन्न सार्वजनिक कार्यक्रममा आशा काजी श्रेष्ठले आफूहरूलाई सुरुङ खनेर भाग्न सकिन्छ भन्ने हौसला र उपाय दिएको स्मरण गर्ने गर्नुभएको छ।यो घटनाले आशा काजी श्रेष्ठको व्यक्तित्वको अर्को पाटो उजागर गर्छ। उहाँ राजनीतिक नेतृत्व मात्र नभई कठिन परिस्थितिमा पनि सम्भावना खोज्न सक्ने योजनाकार र रणनीतिक सोच भएका व्यक्ति हुनुहुन्थ्यो।पछि भद्रगोल जेलबाट अदालतको आदेशमा छुट्नुभएका उहाँलाई प्रहरीले पुनः पक्राउ गर्न खोजेको थियो। त्यस क्रममा उहाँ आफ्ना आफन्तको मोटरसाइकलमा बसेर भाग्न सफल हुनुभएको थियो।जेलबाट छुटेपछि पार्टीको सम्पर्कमा पुग्नुभएका उहाँले अनुशासन, धैर्य र जिम्मेवारीपूर्वक काम गर्दै पुनः पार्टी संगठनमा आफ्नो स्थान स्थापित गर्नुभयो।
राजनीतिक नेतृत्वसँगै सैन्य कमान्डर
आशा काजी श्रेष्ठ तत्कालीन नेकपा माओवादीको गण्डक ब्युरो सदस्य तथा सैन्य कमान्डरको जिम्मेवारीमा रहनुभएको थियो। उहाँको सैनिक पृष्ठभूमि, सैन्य तालिम, राजनीतिक अध्ययन र संगठनात्मक क्षमताका कारण उहाँलाई राजनीतिक तथा सैन्य दुवै क्षेत्रमा जिम्मेवारी दिइएको थियो।
उहाँले सैन्य कमान्डरका साथै राजनीतिक कमिसारको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो।उहाँसँग काम गरेका तत्कालीन नेताहरूका अनुसार आशा काजी श्रेष्ठमा राजनीतिक नेतृत्व र सैन्य व्यवस्थापन दुवै क्षमता थियो। उहाँको अनुभव, अनुशासन र संगठनप्रतिको प्रतिबद्धतालाई सहयोद्धाहरूले स्मरण गर्ने गरेका छन्।
तिहारको खुसीबीच ताकुकोटमा भएको दुःखद घटना
२०५९ साल कार्तिक १९ गते गोरू तिहारको दिन। लामो समयपछि आशा काजी श्रेष्ठ आफ्नो परिवार, आमा, श्रीमती र साना छोराछोरीलाई भेट्न ताकुकोटस्थित घर आउनुभएको थियो। लमजुङबाट तत्कालीन नेकपा माओवादीका केन्द्रीय सदस्य तथा गण्डक इन्चार्ज हितराज पाण्डे ‘उत्तम’ले उहाँलाई बिदाइ गरेर पठाउनुभएको थियो। हितराज पाण्डेले सुरक्षा सतर्कता अपनाउन र परिस्थितिलाई हल्का रूपमा नलिन सुझाव दिनुभएको स्मरण गर्ने गरिएको छ।
तर आशा काजी श्रेष्ठले आफ्नै गाउँघरमा आफूलाई केही नहुने विश्वास गर्नुभएको थियो। गाउँका मानिसलाई आफूले चिनेको, सबैसँग सम्मानजनक सम्बन्ध रहेको र परिवारलाई भेटेर फर्कन सकिने उहाँको बुझाइ थियो।त्यस दिन उहाँ दिनभर हुड्डी खोलास्थित एक घरमा बस्नुभएको थियो। रात परेपछि करिब २० जनाको हाराहारीमा सहयोद्धाहरू उहाँको घरमा पुगेका थिए। केही सहयोद्धा घरभित्र आराम गरिरहेका थिए भने केही सुरक्षा सतर्कताका लागि बाहिर खटिएका थिए।
त्यही रात करिब ९ बजेको समयमा तत्कालीन ताकुकोट इलाका प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले घरलाई लक्षित गर्दै अचानक गोली चलायो।गोली लागेर आशा काजी श्रेष्ठ घरमुनि ढल्नुभयो। घाइते अवस्थामा उहाँ नजिकै रहेको कुमार खनखवासकी दिदीको घरसम्म पुग्नुभयो र पानी मागेर पिउनुभयो।
परिवार तथा गाउँलेहरूको भनाइअनुसार उहाँ तत्कालै मृत्यु हुनुभएको थिएन। भोलिपल्टसम्म उहाँ जीवित रहनुभएको थियो। समयमै अस्पताल पुर्याउन सकेको भए बचाउन सकिने थियो कि भन्ने पीडा आज पनि परिवारमा छ।उहाँका जेठा छोरा सुजन श्रेष्ठले पनि बुवालाई तत्काल उपचारका लागि अस्पताल लैजान पाएको भए जीवन जोगिन सक्थ्यो कि भन्ने पीडा व्यक्त गर्ने गर्नुभएको छ।
त्यस रात भएको घटनामा अन्य सहयोद्धाहरू पनि प्रभावित भए। काशीनाथ लामिछाने ‘कल्याण’ पनि गोली लागेर घाइते हुनुभएको थियो। उहाँ त्यस घटनामा बालबाल बच्नुभएको थियो।त्यहाँ उपस्थित कमान्डर तथा नेताकार्यकर्ताहरू विभिन्न स्थानमा रहेका थिए। ताकुकोट माझ लाकुरीबोट निवासी सहिद बिमला भट्ट ‘सरु’ त्यस क्षेत्रको भूगोलसँग परिचित हुनुहुन्थ्यो। भाग्ने क्रममा उहाँको खुट्टा मर्किएपछि सहयोद्धाहरूले बोकेर लगेका थिए।यसरी तिहारको खुसीमा डुबेको ताकुकोट एकाएक शोकमा डुब्यो। आशा काजी श्रेष्ठ ‘हिमाल’को जीवनको अन्त्य भयो।
सहादतपछि ताकुकोट इलाका प्रहरी चौकीमाथि आक्रमण
आशा काजी श्रेष्ठको सहादतपछि तत्कालीन नेकपा माओवादीभित्र आक्रोश र शोकको अवस्था सिर्जना भयो। कार्तिक २९ गते उहाँको सहादतको घटनापछि ताकुकोट इलाका प्रहरी चौकीमाथि माओवादी पक्षबाट आक्रमण भएको थियो। उक्त कारबाहीमा तत्कालीन गण्डक इन्चार्ज हितराज पाण्डे ‘उत्तम’ स्वयं मोर्चामा उपस्थित हुनुभएको थियो।उच्च राजनीतिक नेतृत्वमा रहेर पनि हितराज पाण्डे आफैँ मोर्चामा उपस्थित भई लडाइँको नेतृत्व गर्नुभएको घटनालाई तत्कालीन माओवादी आन्दोलनको विशेष प्रसङ्गका रूपमा स्मरण गरिन्छ।
हितराज पाण्डे ‘उत्तम’ले विभिन्न कार्यक्रममा आशा काजी श्रेष्ठलाई परिवार भेट्न बिदाइ गरेर पठाएको र आफ्नै घरमा गोली हानी हत्या गरिएको घटनाले आफूलाई गहिरो पीडा दिएको बताउने गर्नुभएको छ।उहाँको भनाइमा, दरौँदीको बाटो हुँदै भच्चेक पुगेर ताकुकोटतिर हेर्दासमेत आशा काजी श्रेष्ठको सम्झनाले भावुक बनाउने गर्छ। यो प्रसङ्गले आशा काजी श्रेष्ठप्रति उहाँका सहयोद्धा तथा तत्कालीन राजनीतिक नेतृत्वमा रहेको आत्मीय सम्बन्ध र व्यक्तिगत पीडालाई पनि उजागर गर्छ।
सहादतले रोकिएन सामाजिक परिवर्तनको विचार
आशा काजी श्रेष्ठको जीवनलाई केवल जनयुद्ध र राजनीतिक आन्दोलनका घटनाक्रमबाट मात्र मूल्याङ्कन गर्न सकिँदैन। उहाँले आफ्नो गाउँमा फैलाउन खोजेको सामाजिक चेतना र समानताको विचार पनि उत्तिकै महत्त्वपूर्ण छ।उहाँले समाजमा जातीय विभेद हट्नुपर्छ भन्नुभयो। दलित समुदायका मानिसले सम्मानपूर्वक बाँच्न पाउनुपर्छ भन्नुभयो। महिलाले पनि पुरुषसरह अवसर र अधिकार पाउनुपर्छ भन्नुभयो। गरिब र धनीबीचको असमानता अन्त्य हुनुपर्छ भन्ने धारणा राख्नुभयो।
उहाँको विचारमा समाज परिवर्तन गर्न सबैभन्दा पहिले मानिसको सोच परिवर्तन हुन आवश्यक थियो।ताकुकोटका स्थानीयवासीका स्मृतिमा उहाँको योगदान आज पनि जीवित छ। विशेषगरी दलित समुदायका मानिसलाई सम्मान गर्ने, उनीहरूसँगै बसेर खानेपिउने र सामाजिक समानताको व्यवहार देखाउने उहाँको शैलीलाई पुराना पुस्ताले अझै सम्झिरहेका छन्। आजको पुस्ताले उहाँको जीवनबाट सामाजिक सद्भाव, समानता, न्याय, समावेशिता र मानव सम्मानको महत्त्व सिक्न सक्छ।
आज पनि महसुस हुन्छ आशा काजी श्रेष्ठको अभाव
आज बारपाक सुलिकोट गाउँपालिकामा स्थानीय सरकार बनेको छ। गाउँमा विकासका विभिन्न संरचना विस्तार भइरहेका छन्। तर राजनीतिक तथा सामाजिक जीवनमा अग्रज पुस्ताले निर्वाह गरेको अभिभावकीय भूमिकाको अभाव पनि महसुस हुने गरेको छ।
आशा काजी श्रेष्ठ, कमला भट्ट, प्रेम ढकाललगायत धेरै सहिद जीवित भएको भए गाउँपालिकाभित्र राजनीतिक समन्वय, केन्द्रीय राजनीतिक पहुँच र स्थानीय विकासका विषयमा थप मार्गदर्शन प्राप्त हुने थियो भन्ने धारणा स्थानीयस्तरमा व्यक्त हुने गरेको छ। कमला भट्ट ‘शशी’, प्रेम ढकाल, कौशिला गुरुङ, बिमला भट्ट ‘सरु’लगायतका अग्रज तथा सहिद नेतृत्वहरूको योगदानलाई पनि यस क्षेत्रले स्मरण गर्दै आएको छ।
आशा काजी श्रेष्ठलाई नजिकबाट चिन्ने र उहाँसँग सहकार्य गरेका व्यक्तिहरूका अनुसार उहाँमा राजनीतिक संगठन निर्माण गर्ने, सामाजिक चेतना फैलाउने र फरक विचार भएका मानिसलाई समेत संवादमा जोड्ने क्षमता थियो।
आजको पुस्ताले उहाँको जीवन र योगदानलाई अध्ययन गर्नु आवश्यक छ। किनकि समाज परिवर्तनको इतिहास केवल ठूला राजनीतिक घटनाबाट मात्र निर्माण हुँदैन। गाउँको एउटा कुनामा बसेर जातीय विभेदविरुद्ध आवाज उठाउने, महिलालाई अधिकारका लागि प्रेरित गर्ने र विद्यार्थीलाई सामाजिक चेतना दिने व्यक्तिहरूको योगदानले पनि इतिहास निर्माण गर्छ।
सहिद आशा काजी श्रेष्ठको नाममा खेलकुद मैदान
आशा काजी श्रेष्ठको स्मृतिलाई जीवन्त राख्ने उद्देश्यले बारपाक सुलिकोट गाउँपालिकाले ताकुकोट बाहाकोट क्षेत्रमा उहाँको नाममा सहिद आशा काजी श्रेष्ठ खेलकुद मैदान तथा रंगशाला निर्माण गरेको छ। यो संरचना उहाँप्रतिको सम्मान र स्मृतिको एउटा महत्त्वपूर्ण प्रतीक बनेको छ। खेलकुद मैदान केवल खेल खेल्ने स्थान मात्र होइन, नयाँ पुस्ताले सहिदहरूको योगदान सम्झने, सामूहिकता सिक्ने र समाजसँग जोडिने माध्यम पनि बन्न सक्छ।
यस्ता स्मृति संरचनालाई अझ व्यवस्थित गर्दै उहाँको जीवनी, योगदान र सामाजिक विचारलाई विद्यालय तथा स्थानीय पाठ्यक्रममा समेट्न सके भावी पुस्ताले आफ्नो गाउँको इतिहास बुझ्ने अवसर पाउनेछन्।
शरीर रहेन, विचार जीवित छ
२०५९ साल कार्तिक १९ गते गोरू तिहारको दिन ताकुकोटले एउटा राजनीतिक तथा सामाजिक नेतृत्व गुमायो। एउटा परिवारले अभिभावक गुमायो। श्रीमतीले जीवनसाथी गुमाइन्। छोराछोरीले बुवा गुमाए। गाउँलेले आफ्नो परिचित नेतृत्व गुमाए। सहयोद्धाहरूले आफ्ना सहकर्मी गुमाए।
आशा काजी श्रेष्ठ ‘क। हिमाल’ आज हामीमाझ भौतिक रूपमा हुनुहुन्न। तर उहाँले उठाउनुभएका परिवर्तन, गणतन्त्र, संघीयता, लोकतन्त्र, जातीय विभेद अन्त्यका प्रश्न, महिला समानताका विचार, सामाजिक न्यायको आवाज र परिवर्तनको सपना आज पनि उत्तिकै सान्दर्भिक छन्।
उहाँको जीवनमा राजनीतिक संघर्ष थियो, सैनिक अनुभव थियो, जेल जीवन थियो, संगठन निर्माणको यात्रा थियो र सामाजिक रूपान्तरणप्रतिको प्रतिबद्धता थियो। मानिस जन्मिन्छ र एक दिन संसारबाट बिदा हुन्छ। तर सबै मानिसले आफ्नो जीवनपछि समाजमा सम्झनलायक योगदान छोडेर जान सक्दैनन्। केही व्यक्तिहरू आफ्नो विचार, कर्म, संघर्ष र योगदानका कारण पुस्तौँसम्म स्मरण गरिन्छन्।
आशा काजी श्रेष्ठ ‘हिमाल’ त्यस्तै एउटा नाम हो, जसलाई ताकुकोट, बारपाक सुलिकोट र गोरखाले आज पनि सम्झिरहेको छ। उहाँको सहादतको दिन प्रत्येक वर्ष कार्तिक १९ गते आउँदा केवल एउटा व्यक्तिको मृत्यु सम्झिने दिन मात्र होइन, उहाँले बोकेको सामाजिक चेतना, समानताको सपना र परिवर्तनको विचारलाई पुनः स्मरण गर्ने दिन पनि हो। हिजो उहाँले उठाउनुभएको सामाजिक समानता, जातीय विभेद अन्त्य, महिला अधिकार, गरिब तथा उत्पीडित समुदायको सम्मान र सामाजिक न्यायको आवाज आजको पुस्ताले व्यवहारमा उतार्न सक्नुपर्छ। यही नै उहाँप्रतिको वास्तविक सम्मान हुनेछ।
ताकुकोटले फेरि आशा काजी श्रेष्ठजस्तै सामाजिक चेतना बोकेको, सबैलाई समान व्यवहार गर्ने र समाजलाई एकताबद्ध गर्न सक्ने नेतृत्व पाउन कति समय लाग्ला, त्यो भविष्यले बताउला। तर उहाँले छोडेर जानुभएको विचार र योगदानलाई संरक्षण गर्नु आजको पुस्ताको जिम्मेवारी हो। भौतिक शरीर समाप्त भए पनि विचार र योगदान कहिल्यै समाप्त हुँदैन।
ताकुकोटको माटोले जन्माएको एउटा प्रगतिशील चेतना, एउटा शिक्षक, एउटा राजनीतिक तथा जनमुक्ति सेनाका सैन्य नेतृत्व र सामाजिक समानताको पक्षधर व्यक्तित्व—आशा काजी श्रेष्ठ ‘क. हिमाल’ सधैँ स्मरणमा रहिरहनुहुनेछ।
सहिद आशा काजी श्रेष्ठ ‘क. हिमाल’प्रति भावपूर्ण श्रद्धाञ्जली।
लेखक : धिरज उपरकोटी,
वाईसिएल नेपाल केन्द्रीय सचिव तथा प्रवक्ता