२० कार्तिक काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी बिक्री सुरु गरेको सुनका असर्फी शुक्रबार बिक्री नगर्ने भएको छ। बिक्रीका लागि राखिएको सुनका असर्फीको मौज्दात सकिएपछि केन्द्रीय बैंकले असर्फी बिक्री बन्द गरेको हो।
नेपाल राष्ट्र बैंकले बिहीबारदेखि सर्वसाधारणका लागि सुनका असर्फी र चाँदीका मेडालियन बिक्री सुरु गरेको थियो। पहिलो दिन कर्मचारीसहित ४ हजार ५०० वटा सुनका असर्फी बिक्री भएको राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले जानकारी दिए।
उनका अनुसार प्रक्रियागत जटिलताका कारण बिक्रीयोग्य असर्फीको संख्या सीमित रहेकाले बिहीबार नै मौज्दात सकिएको हो। मौज्दात सकिएपछि शुक्रबार सुनका असर्फी बिक्री नहुने भएको छ।
६५ हजार ४०० रुपैयाँमा बिक्री भएको थियो असर्फी
राष्ट्र बैंकले बिहीबार प्रतिव्यक्ति एकवटा २.५ ग्राम तौलको सुनको असर्फी ६५ हजार ४०० रुपैयाँमा बिक्री गरेको थियो।त्यस्तै, १० ग्राम तौलको चाँदीको मेडालियन ३ हजार ८०० रुपैयाँमा बिक्री गरिएको थियो। तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले हरेक वर्ष सुनका असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्दै आएको छ।
शुक्रबार चाँदीका मेडालियन मात्र बिक्री हुने
राष्ट्र बैंकका अनुसार शुक्रबार सुनका असर्फी बिक्री नहुने भए पनि चाँदीका मेडालियन भने बिक्री गरिनेछ।शुक्रबारका लागि १० ग्राम तौलको चाँदीको मेडालियनको मूल्य प्रतिगोटा ३ हजार ७०० रुपैयाँ तोकिएको छ।
तिहारको लक्ष्मीपूजाका अवसरमा सुनचाँदीका सिक्का तथा मेडालियनको माग बढ्ने गर्दछ। सोही मागलाई ध्यानमा राख्दै राष्ट्र बैंकले सर्वसाधारणका लागि असर्फी तथा मेडालियन बिक्रीको व्यवस्था गर्दै आएको छ।